• १७ असार, शुक्रबार
  • , Jul 01, Friday

तनहुँमा म्यादी प्रहरीका लागि तेब्बरको आवेदन

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरी हुनलाई तनहुँमा झन्डै तेब्बर बढीले आवेदन दिएका छन् । एक हजार २९२ म्यादी प्रहरीका लागि आवेदन माग गरिएको थियो । तर, तीन हजार ४१८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक शिवराज क्षेत्रीले बताए । क्षेत्रीका अनुसार ६४५ महिला र दुई हजार ७७३ पुरुषले म्यादी प्रहरीमा आवेदन दिएका हुन् ।  ६ देखी ११ चैतसम्म जिल्ला प्रहरी कार्यालय दमौलीमा आवेदन लिइएको थियो । म्यादी प्रहरी छनोट प्रकृया मंगलबारदेखि सुरु प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए । उनले भने, ‘शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा, अन्तर्वार्ता र स्वास्थ्य परीक्षण गरेर बल्ल छनोट गरिन्छ ।’ २२ चैतसम्म छनोट भएका म्यादी प्रहरीको नतिजा प्रकाशन हुनेछ । २८ चैतदेखि प्रशिक्षण दिन थालिनेछ ।

जिल्लामा म्यादी प्रहरी बन्न परेको तेब्बर बढीको आवेदनले नेपालमा बेरोजगारीको स्थिति प्रस्ट झल्काएको प्राध्यापक डा.ईश्वरचन्द्र वाग्ले बताउँछन् । म्यादीमा छनोट हुन दिएको आवेदनले युवाको आकर्षणभन्दा पनि बेरोजगारीको तथ्याङ्क उजागर गरेको उनको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा जानेहरुको पनि लर्को छ । एमए पढेका समेत म्यादी  प्रहरीमा गएका छन् । यसले त नेपालका राजनीतिक दल र नेताहरूलाई सोच्न बाध्य बनाएको छ, कसरी बेरोजगारीलाई रोजगारीमा बदल्ने भनेर’, उनी भन्छन्, ‘अब कसरी हुन्छ देशमा रोजगारीको अवसर सिर्जना गर्न लाग्नुपर्छ । उत्पादन बढाउनुपर्नेछ ।’  

कोरोना महामारीलाई दोष दिएर नेताहरू उम्कन नमिल्ने वाग्लेको भनाइ छ । बेरोजगारीको समस्या भयावह भइरहेको बताउँदै उनले थपे, ‘बेरोजगारी बढेपछि हत्या हिंसा, चोरी डकैती बढाउँछ ।’  उद्योगधन्दा खोल्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याएर रोजगारीसँग जोड्ने योजना सरकारले बनाउनुपर्ने उनले बताए । ‘नेताहरु आफ्नै स्वार्थ मात्र हेरिरहेका छन् । भ्रष्टाचारमा लिप्त भएको देख्छौँ’, उनले भने ।१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा भर्ना हुन पाउनेछन् । कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।छनोट पार गरेर भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्नेछन् । प्रहरी जवानले पाउने तलब सुविधा म्यादी प्रहरीका लागि व्यवस्था गरिएको छ । ४० दिनको पारिश्रमिक ३० हजार २४० रुपैयाँ निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत सात हजार २०० रुपैयाँ, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ र यातायात खर्च बापत एक हजार रुपैयाँका दरले पाउनेछन् । बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

छुटाउनुभयो कि?

सबै