• २७ जेठ, शनिबार
  • , Jun 10, Saturday

ओस्करमा इतिहास रच्ने जेन क्याम्पियन

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

काठमाडौँ — जेन क्याम्पियनले ९४ वर्षे ओस्कर इतिहासमा 'द पावर अफ द डग'बाट निर्देशनमा ओस्कर अवार्ड जित्ने तेस्रो महिलाका रूपमा इतिहास रचेकी छन् । सन् १९९४ मा 'पियानो'बाट यो विधाको मनोनयनमा परेकी उनले उक्त वर्ष स्टिभन स्पिलवर्गको 'सिन्डलर्स लिस्ट'अघि 'उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले'मै चित्त बुझाउनु पर्‍यो ।

२७ वर्षपछि उनै निर्देशक स्पिलवर्गको 'वेस्ट साइड स्टोरी'सँगै उत्कृष्ट निर्देशनमा मनोनीत उनले यो पटक भने इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । उनै स्पिलवर्गको फिल्मलाई उछिन्दै निर्देशनको ट्रफी उचालेकी उनी भविष्यमा यो जितमा अन्य महिला फिल्मकर्मीहरुको सहभागिता रहनेमा विश्वास राख्छिन् ।

'आजको जितमा निकै गर्व लागिरहेको छ । मेरो फिल्म र मेरा कलाकारहरूका लागि खुसी छु । साथै, ओस्कर जित्ने अर्की महिला फिल्मकर्मी हुन पाउँदा खुसी छु जसलाई अब चौथो, पाँचौं, छै‌ँटौँ, सातौं, आठौं महिलाहरुले जित्दै जानेछन् । यो क्रम तीव्र रुपले अगाडि बढिरहेको छ । यो आवश्यक पनि थियो । समानताले अर्थ राख्छ,'अवार्ड जितिसकेपछि मिडियालाई भनिन्,'महिला फिल्मकर्मीहरुमा छुटै ऊर्जा देखिन्छ । सायद मिटू अभियानले महिलाहरुलाई यो समय उनीहरुको हो भन्ने आभास गराइदिएको छ । मलाई लाग्छ अब हामी महिलाले बनाएका राम्रा फिल्महरु हेर्न पाउनेछौं । त्यसका लागि म निकै उत्साहित छु ।'

यसअघि सन् २००९मा 'द हर्टलकर'बाट क्याथ्रिन बिगेलो र सन् २०२१ मा चीनकी क्लोइ चाउले 'नोम्याडल्यान्ड'बाट ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । यो विधामा अहिलेसम्म पाँच महिलाका नाम मनोनयनमा परेका छन् । बिगेलो, चाउ र क्याम्पियनसँगै लीना वर्टमुलर, सोफिया कोपला र ग्रेटा गेरविकले यो विधामा आफ्नो उपस्थिति जनाइसकेका महिला हुन् ।

'द पावर अफ द डग'बाट क्याम्पियनले यसअघि बाफ्टा, गोल्डेन ग्लोब्स र डिरेक्टर्स गिल्ड अफ अमेरिका अवार्डमा उत्कृष्ट निर्देशनको अवार्ड उचालेकी थिइन् । भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशनको सिल्भर लायन जितिसकेकी क्याम्पियनले भने दुई पटकसम्म निर्देशनमा पर्ने महिला निर्देशकको रेकर्ड पनि तोडेकी हुन् । यसअघि 'पियानो'बाट 'उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले' जित्दा उनको पेटमा चार महिनाको छोरी हुर्कँदै थियो । २७ वर्षपछि 'द पावर अफ द डग'मार्फत आफ्नो वास्तविक कमब्याक भएको बताउँछिन् क्याम्पियन ।

'२७ वर्षअगाडि मैले ओरिजिल स्क्रिनप्ले जित्दा मेरो पेटमा ४ महिनाको छोरी हुर्किंदै थिइन् । त्यो एकदम फरक अनुभव थियो । २७ वर्षपछि फेरि मेरो कमब्याक भएको छ,'उनले पुराना दिन सम्झँदै भनिन,'एक निर्देशकका हिसाबले तपाईंको वृद्धि भइरहेको र बलियो हुँदै गएको आभास हुनु एकदमै सुन्दर अनुभव हो । म महिलाहरुसँग काम गर्न रुचाउँछु । उनीहरुमा छुट्टै गुण हुन्छन् । उनीहरु भावनात्मक हुन्छन् । विश्वासयोग्य, वास्तविक र प्रतिभावान हुन्छन् ।'

न्युजिल्यान्डकी क्याम्पियनले 'पावर अफ द डग'मा दुई दाजुभाइको सम्बन्धमा बिहेपछि आउने उतारचढावलाई देखाएकी छन् । सन् १९२५ को सेटिङमा तयार पारिएको फिल्ममा फिल र जर्जको कथा समेटिएको छ । यी दुई दाजुभाइ स्वभावले फरक हुन्छन् । दयालु स्वभावका ज्वर्ज सफा अनि चिट्टिक्क भएर बस्न रुचाउँछन् भने फिल मैलो कपडामा । एकदिन यी दुई दाजुभाइले 'क्याटल ड्राइभ'को क्रममा विधवा रोजलाई भेट्छन् । जर्ज रोजतर्फ तानिन्छन् अनि बिहेको निर्णयमा पुग्छन् । बिहेपछि यी दुई दाजुभाइको सम्बन्धमा आउने ‍आरोह अवरोह फिल्मको प्रमुख कथा हो ।

सन् १९६७ को थोमस सेवेज लिखित उपन्यास 'पावर अफ दि डग'ले यो वर्षको ओस्कारको १२ वटा विधामा कब्जा गरेको थियो । न्युजिल्यान्डकी जेनले उत्कृष्ट निर्देशनतर्फको ट्रफी जितेसकेपछि पुस्तकका लेखकलाई सम्झँदै अवार्डलाई 'लाइफटाइम अचिभमेन्ट' बताइन् । 'मलाई निर्देशन मनपर्छ कारण यसले कथाको गहिराइमा तपाईंलाई पुर्‍याइदिन्छ । फिल्मको संसार सिर्जना गर्ने काम ठूलो जिम्मेवारी हो । 'पावर अफ द डग'मा मैले अभिनेताहरुसँग काम गरेको छु, उनीहरु मेरा साथी हुन् । उनीहरुले कथाको गहिराइलाई आफ्नो प्रतिभामार्फत प्रस्तुत गरिदिए,'उनले भनिन्,'यो थोमस सेवेजबिना असम्भव नै हुनेथियो जसलाई मैले मेरो जीवनभर भेटिन । उहाँले क्रुरता, दया र चाहने व्यक्तिहरुको विषयमा पुस्तक लेखिदिए । धन्यवाद एकेडेमी यो लाइफटाइम अचिभमेन्ट सम्मानका लागि।'

क्याम्पियन, कल्पना शक्ति र कडा मिहेनतको मिश्रणले राम्रो फिल्म बन्ने बताउँछिन् । 'जवान हुँदा फिल्ममेकिङमा मैले आफ्नो स्थान बनाउन संघर्ष गर्नुपर्‍यो । मसँग त्यतिबेला थुप्रै कल्पनाहरु थिए,'उनले ओस्कार ट्रफी उचाल्दै सुनाइन्,'कथा र पात्रहरुमार्फत म आफैं अभिव्यक्त गरिरहेझैं लाग्छ । निर्देशन प्रथम त कल्पना हो, अर्को त अनुशासन पनि हो । सबैसँग कल्पना गर्ने अधिकार हुन्छ । त्यसमा कडा मिहेनत गर्नुपर्‍यो । यी दुई विशेषतालाई सन्तुलन मिलायो भने राम्रो फिल्म बनाउन सकिन्छ ।'

'एन एन्जल एट माइ टेबल', 'होली स्मोक', 'ब्राइट स्टार' र 'टप अफ दि लेक' निर्देशन गरेकी क्याम्पियनको पहिलो लघु फिल्म पील (१९८९) ले त्यो वर्ष कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो । 'स्वीटी'बाट फिचरमा डेब्यू गरेकी क्याम्पियनसँगै ओस्कारमा यो वर्ष रेकर्ड राख्नेमा अन्य फिल्मकर्मी पनि थपिएका छन् । 'स्पिलवर्ग'ले रिमेक गरेको फिल्म 'वेस्ट साइड स्टोरी'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड उचालेकी अरियाना डिबोसले ओस्कर जित्ने पहिलो अश्वेत 'क्वेर' महिलाको रेकर्ड बनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । ट्रोय कोटसरले 'कोडा'बाट ओस्कर जित्ने पहिलो 'डिफ' कलाकारको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएकी छन् । उनले फिल्ममार्फत सह-अभिनेतातर्फ अवार्ड जितेका हुन् ।

छुटाउनुभयो कि?

सबै