• १० चैत, सोमबार
  • , Mar 24, Monday

दोलखाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी-साङ्बा सडक कालोपत्रे हुने

  • २०७८ साउन ३२ सोमबार
  • Yugbani

संघ र प्रदेशको साझेदारीमा सुनखानी-साङ्बा सडक कालोपत्रे हुने सोरुङ खोलामा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिँदै दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडक संघीय र प्रदेश सरकारको लागत साझेदारीमा कालोपत्रे हुने भएको छ । प्रदेश र संघीय सरकारको समपूरक अनुदानबाट जिल्लाको विकट भनिने उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग कालोपत्रे हुन लागेको हो ।

सुनखानीदेखि साङ्बासम्मको करिब ४० किलोमिटर सडकमध्ये यसअघि एसियाली विकास बैंकको सहयोगमा सडकको ३० किलोमिटर खण्ड स्तरोन्नतिसहित चौडा भइसकेको र सोही खण्डमा कालोपत्रे गर्ने तयारी गरिएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर राजु श्रेष्ठका अनुसार संघ र प्रदेशको समपूरक अनुदानबाट उक्त सडक कालोपत्रे गर्ने तयारी गरिएको हो । कार्यालयका प्रमुख इन्जिनियर श्रेष्ठले बहुवर्षीय ठेक्का प्रक्रियाका आधारमा पहिलो चरणमा सुनखानीस्थित दूधपोखरी पहिरोदेखि सोरुङ खोलासम्मको सडक क्षेत्रमा कालोपत्रेको काम अघि बढाउने तयारी भएको जानकारी दिए । सडक निर्माण सम्पन्न भएपछि विश्वकै पहिलो भिक्षुणी उत्पादन गर्ने ऐतिहासिक बिगु गुम्बा, नेपालको सबैभन्दा ठूलो स्लेट ढुंगाखानी आलम्पुलगायतका महत्वपूर्ण सम्पदाहरू राष्ट्रिय सडकमार्गमा जोडिनेछन् । लेप्टुङबाट ड्रोन सर्भे सुरु पूर्वाधार विकास कार्यालयले सडक कालोपत्रेका लागि बिहीबारदेखि कालिञ्चोक गाउँपालिका– ६ दूधपोखरीस्थित लेप्टुङ खण्डबाट ड्रोन उडाएर सर्वेक्षण सुरु गरेको छ । पूर्वाधार कार्यालयका इन्जिनियर रबिन खातीका अनुसार जतिसक्दो छिटो सडकको प्राविधिक सर्वेक्षण सम्पन्न गरी प्रदेश मन्त्रालय पठाइनेछ । कार्यालयले बहुवर्षीय ठेक्का स्वीकृत गराएपछि भौतिक निर्माणका लागि प्रक्रिया सुरु हुने इन्जिनियर खातीले जनाएका छन् । कालिञ्चोक गाउँपालिकाले यसअघि ३० किलोमिटर सडकको डिपिआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन तयार गरी पूर्वाधार कार्यालय पठाएको थियो । सोही डिपिआरका आधारमा काम अघि बढाइएको कार्यालयले जनाएको छ । लेप्टुङदेखि सोरुङसम्मको सडकको डिजिटल सर्वेक्षणको काम केही दिनभित्रै सकिने जनाइएको छ । सोरुङ खोलादेखि साङ्बासम्मको झन्डै १० किलोमिटर सडकको डिपिआर गर्न बाँकी रहेको जनाइएको छ । चालू आवका लागि २१ करोड ५४ लाख बजेट संघीय सरकार र प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि समपूरक अनुदानबापतको २१ करोड ५४ लाख बजेटको अख्तियारी प्राप्त भएको पूर्वाधार कार्यालय प्रमुख राजु श्रेष्ठले बताएका छन् । उनले भने, ‘हामीलाई प्रदेश भौतिक मन्त्रालयबाट १० करोड ७७ लाख र संघीय सरकारबाट १० करोड ७७ लाख गरी २१ करोड ५४ लाख बजेट प्राप्त भएको छ ।’ तत्काल सर्वेक्षण सम्पन्न गरी बहुवर्षीय आयोजना बनाएर भौतिक निर्माणको थालनी गर्छौँ । श्रेष्ठका अनुसार आयोजना सम्पन्न गर्न झन्डै ७० देखि ७५ करोडसम्म खर्च हुने अनुमान छ । जम्मा लागतबारे सर्भे सम्पन्न गरेको केही दिनभित्र टुंगो लाग्ने श्रेष्ठले सुनाएका छन् । सोरुङमा पक्की पुल, दम्बा र याबल खोलामा कल्भर्टको प्रस्ताव गरिने सुनखानी–साङ्बा सडकका मुख्य दुई खोलाहरू गुमुखोला र सोरुङ भनिने मैरेखोलामध्ये गुमुखोलामा यसअघि नै पक्की पुल निर्माण भइसकेको छ । पक्की पुल निर्माण हुन बाँकी रहेको सोरुङ मैरेखोलामा तत्काल पुल निर्माणका लागि प्रदेश मन्त्रालयमा कार्यक्रम संशाेधनसहितको प्रस्ताव गर्ने तयारी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर श्रेष्ठका अनुसार दम्बाखोला र याबलखोलामा पक्की कल्भर्ट निर्माणका लागि पनि सँगसँगै प्रस्ताव गरिने छ । यी तीनवटै खोलामा पुल र कल्भर्ट भएपछि बाटो कतै पनि अबरुद्ध नहुने स्थानीयहरू बताउँछन् ।

छुटाउनुभयो कि?

सबै