• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

एक तिहाई प्रान्तीय राजधानीमा तालिबानको कब्जा, कूटनीतिक कर्मचारी उद्धारका लागि अमेरिकाले पठायो सैनिक

  • २०७८ साउन ३० शनिबार
  • Yugbani

तालिबानको आक्रमण तथा नियन्त्रण तीव्र गतिमा बिस्तार हुँदै गर्दा अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान पुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट बाहिर लैजान सहयोग गर्नका लागि लागि अमेरिकी सैनिकको टोली पुगेको हो ।

 

अमेरिकाले शुक्रबार कूटनीतिक तथा अरु व्यक्तिहरुलाई उद्धार गर्नका लागि तीन हजार सैनिक पठाएको हो । उनीहरु सबै हप्ताभरमा फिर्ता हुने जनाइएको छ ।

अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका कर्मचारीहरुलाई संवेदनशील कागजात तथा सामग्रीहरु ध्वस्त पार्नका लागि उपकरणको व्यवस्था गरिएको जानकारी गराएको छ । विपक्षीहरुले प्रोपोगाण्डाका लागि प्रयोग गर्न सक्ने सामग्री ध्वस्त पार्न उपकरण उपलब्ध भएको जानकारी अमेरिकाले गराएको हो ।

बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६०० सैनिक पठाउने तयारी गरेको छ ।

यस्तै जर्मनीले जस्तै निकै कम मात्रै कर्मचारीहरु दूतावासमा राख्ने तयारी बेलायतको छ । डेनमार्क र नर्वेले भने अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।

ग्रामीण क्षेत्रपछि शहरी क्षेत्रमा पनि तालिबानले नियन्त्रण कायम गर्दै गर्दा विभिन्न देशले आफ्ना कूटनीतिक कर्मचारी तथा नागरिकहरुलाई फिर्ता लैजान हतारो गरिरहेका छन् ।

शुक्रबार तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर देशको राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अफगानिस्तानको अवस्था तीव्र गतिमा खराब बन्दै गएको र यसको प्रभाव गम्भीर हुने बताएका छन् ।

बढ्दै गएको हिंसाका कारण अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

अमेरिकीसहित नेटोसँग आवद्ध विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेसँगै तालिबानले आफ्नो पकड बिस्तार गरिरहेको छ । अगस्ट अन्तिमसम्ममा अमेरिकी तथा सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक फिर्ता हुने तालिका छ ।

२० वर्षपछि अमेरिकीसँगै सबै विदेशी सैनिक फिर्ता हुने भएपछि तालिबानले गरिरहेको प्रभाव बिस्तारले मानवअधिकारको पक्षमा प्राप्त पछिल्लो प्रगति गुम्ने जोखिम बढेको छ ।

तालिबानले शुक्रबार अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार र त्यसको नजिक रहेको लश्कर गाह नियन्त्रणमा लिएको छ । यस्तै पश्चिमी क्षेत्रको हेरातमा पनि कब्जा जमाउन सफल भएको छ । अफगानिस्तानका एक तिहाई प्रान्तीय राजधानीमा तालिबानको नियन्त्रण छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले पछिल्लो घटनाक्रम गम्भीर चासोको विषय रहेको बताएका छन् । तर राजधानी काबुल भने जोखिममा नरहेको दाबी उनले गरे ।

अमेरिकाको पछिल्लो गुप्तचर अनुमान अनुसार तालिबान बिद्रोहीले ३० दिन भित्र काबुल नियन्त्रणमा लिने प्रयास गर्ने छन्।

छुटाउनुभयो कि?

सबै