• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

चेल्सीले लुकाकुलाई फेरि किन क्लबमा ल्यायो ?

  • २०७८ साउन ३० शनिबार
  • Yugbani
२९ साउन, काठमाडौं । अन्तिमपटक सन् २०१३ मा चेल्सीको जर्सी लगाएर खेलेको रोमेलु लुकाकुमा धेरै परिवर्तन आइसकेको छ । उनले दुई देशका तीन क्लबबाट खेले, करिब ३० करोड पाउण्ड आम्दानी गरे, क्लबका लागि १९३ गोल गरे । अनि बेल्जियमका लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ता बने ।
गत सिजन उनले गरेको २४ गोल र ११ एसिस्टकै मदतमा एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टरमिलानले ११ वर्षमा पहिलोपटक इटालियन लिग सिरि ए को उपाधि दिलाए । तर, चेल्सीले आफ्नो ट्रान्सफरको रेकर्ड तोड्दै किन २८ वर्षीय लुकाकुलाई क्लबमा भित्र्याउने निर्णय गर्‍यो त ? अनि उनले चेल्सीलाई २०१७ पछि पहिलोपटक प्रिमियर लिगको उपाधि दिलाउन सक्लान् ? विश्वस्तरीय स्ट्राइकर ? २०११ को अगष्टमा लुकाकु चेल्सीमा आबद्ध भएका थिए । चेल्सीले उनलाई एन्डरलेचबाट एक करोड ८० लाख पाउण्डमा खरिद गरेको थियो । तर उनले केवल १५ खेल खेले । वेस्ट ब्रोम र इभटर्नमा लोनमा गए । त्यसपछि २ करोड ८० लाख पाउण्डमा एभर्टन गए । यो रकम एभर्टनले त्यतिबेला कुनै पनि खेलाडीका लागि खर्चिएको सबभन्दा ठूलो धनराशी थियो । एभर्टनपछि ७ करोड ४० लाख पाउण्डमा म्यानचेस्टर युनाइटेडमा गए । त्यहाँबाट ७ करोड ४० लाख पाउण्डमा इन्टर मिलान पुगे । उनको गोल त नियमितरुपमा आफ्नो हिसाबले भइरहेको छ तर इन्टर मिलानमा गत सिजन जितेको सिरि ए को उपाधि नै लुकाकुको २०१० यताको पहिलो उपाधि हो । त्यसअघि उनले एन्डरलेचमा रहँदा बेल्जियन लिगको उपाधि जितेका थिए । त्यसबेला उनी मात्र १६ वर्षका थिए र उनले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट पनि जितेका थिए । २०१२–१३ यता केवल ६ खेलाडीले मात्र युरोपका प्रमुख पाँच लिगको प्रत्येक सिजनमा १० वा सोभन्दा धेरै गोल गरेका छन् । यो सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, रोबर्ट लेवानडोस्की, लुइस स्वारेज, पिर्रे–एमेरिक औबामेयाङ र लुकाकु छन् । युरो २०२० चलिरहँदा लुकाकुले भनेका थिए, ‘मानिसहरुले लेवानडोस्की, (करिम) बेन्जेमा वा (ह्यारी) केनको कुरा गर्दा उनीहरुलाई विश्वस्तरीय बताउँथे । तर, मेरो कुरा गर्दाचाहिँ केवल राम्रो फर्म रहेको मानिथ्यो । यसले मलाई थप मेहनत गर्न र बलियो बन्न प्रेरित ग¥यो ।’ ‘म उक्त विश्व स्तरीय खेलाडीहरुको सूचीमा सामेल छु ।’ पृथक लुकाकु दुई वर्षअघि म्यानचेस्टर युनाइटेड छाड्दाको तुलनामा फरक खेलाडीको रुपमा लुकाकु प्रिमियर लिगमा फर्किएका छन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भने लुकाकुको मूल्यांकनका लागि छुट्टै राखेर हेर्नुपर्ने बताउँछन् । एभर्टनमा रहँदा अग्रपंक्तिको खेलाडीका रुपमा लगेका मार्टिनेज लुकाकुले पछिल्लो पाँच वर्षमा आफूलाई अन्तर्राष्ट्रिय स्तरमा पनि साबित गरेको बताउँछन् । गत जुनमा मार्टिनेजले भनेका थिए, ‘गोल गर्ने क्षमतासहित उनको जन्म भएको थियो ।’ ‘हामी अहिले यस्तो खेलाडीको कुरा गरिरहेका छौं, जो आफ्नो व्यक्तिगत क्षमताको उच्च विन्दुमा छ र वास्तविकरुपमा परिपक्क बनेका छन्’, मार्टिनेज थप्छन्, ‘पछिल्लो समय उनी पूर्णरुपमा फरक मानव र फरक फुटबलर बनेका छन् । उनी अरुलाई पनि प्रभावित पार्न सक्छन् ।’ गत सिजनमा युरोपका प्रमुख पाँच लिगमा केवल तीन खेलाडीले २० वा सोभन्दा धेरै गोल र १० वा सोभन्दा धेरै एसिस्ट गरे । उनीहरु हुन्– ह्यारी केन, रोमेलु लुकाकु र मेम्फिस डिपेइ । लुकाकुले गरेको ११ एसिस्ट उनको यसअघि म्यानचेस्टर युनाइडेटमा गरेको उत्कृष्ट प्रदर्शनभन्दा चारले बढी हो । इन्टर मिलानलाई सिरि ए को उपाधि जिताएपछि क्लब छाडेका कोन्टे भन्छन्, ‘रोमेलु विश्वका उत्कृष्ट स्ट्राइकर मध्ये एक हुन् ।’ उनीमा राम्रो क्षमता रहेको र पछिल्लो दुई वर्षमा उनको क्षमतामा थप सुधार आइरहेको उनको भनाइ छ । इंगल्याण्डको प्रदर्शन लुकाकु २४ वर्ष पुग्नु अगाडि नै प्रिमियर लिगमा ८० गोल गर्ने चौथो खेलाडी हुन् । उनले यी सबै गोल वेस्ट ब्रोम र एभर्टनबाट गरेका हुन् । यद्यपि उनले चेल्सीबाट भने कुनै गोल गर्न सकेनन् । लुकाकु प्रिमियर लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा २० औं स्थानमा छन् । उनले प्रिमियर लिगमा ११३ गोल गरेका छन् । जबकी उनले इंग्ल्याण्डमा सात सिजन मात्र नियमित फुटबल खेलेका छन् । चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटोन भन्छन्, ‘उनले आफूलाई प्रिमियर लिगको गोलकर्ताको रुपमा प्रमाणित गरेका छन् । जुन चेल्सीले चाहन्छ, त्यो विश्वसनीयता लुकाकुले क्लबलाई दिन सक्छन् । उनले क्लबका लागि धेरै गोल गर्न सक्छन् ।’ इटालीका फुटबल लेखक जेम्स हर्नकास्टल भन्छन्, ‘उनले सिरि ए लिग रोनाल्डोबाट खोसेर आफ्नो नाम गराए । सामान्य स्ट्राइकरले त्यस्तो गर्न सक्दैन । यो असामान्य खेल थियो । उनी अहिले मिलानको ‘किङ’ हुन्, यो सहर कुनै समय जाल्टन इब्राहिमोभिक सँग जोडिन्थ्यो । अब उनले के साबित गर्न बाँकी छ ?’ चेल्सीलाई लुकाकु किन चाहिएको छ ? चेल्सी प्रिमियर लिगको पछिल्लो सिजनमा दोस्रो सबभन्दा बलियो रक्षापंक्ति भएको टोली हो । उक्त सिजनमा चेल्सीले ३६ गोल मात्र खाएको थियो । तर गोल गर्न नसक्नु चेल्सीको समस्या रह्यो । पछिल्लो सिजनमा टोलीमा सबभन्दा धेरै गोल गर्ने खेलाडी जोर्गिन्हो बनेका थिए । उनले जम्मा सात गोल गरेका थिए र उनको सबै गोल पेनाल्टीमार्फत भएको थियो । सटन भन्छन्, ‘ह्यारी केन म्यान सिटी गए भने उनीहरुले उपाधि जित्न सक्छन्, गएनन् भने चेल्सीमा ठूलो अन्तर देखिन सक्छ ।’

छुटाउनुभयो कि?

सबै