• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

मेलम्चीमा आमा रुँदा...

  • २०७८ साउन २२ शुक्रबार
  • Yugbani

ठ्याक्कै ६ बजे भक्तपुर कौशलटार चोकमा अफिसले पठाएको गाडी आउँदै थियो। गाडीका चालक रामजी खड्कालाई फोन गरें। उनले ग्वार्कोसम्म सिनियर फोटो पत्रकार सुनिता डंगोललाई लिन जाने र ६:१५ सम्म कौशलटार आइपुग्ने बताए। भनेकै समयमा गाडी आयो। संघीय ब्यूूरो प्रमुख रामकला खड्का गठ्ठाघरमा हुनुहुन्थ्यो। उहाँ पनि चढेपछि हाम्रो टिम पूरा भयो र हामी अघि बढ्यौ सिन्धुपाल्चोकस्थित मेलम्चीको स्थलगत रिपोर्टिङका लागि।

 

 

२०७८ असार १ गतेदेखि ४ गतेसम्म आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको केही संरचनामा क्षति पुग्नुका साथै सुरुङमार्गस्थल अम्बाथानदेखि मेलम्ची बजारसम्मको तटीय क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको थियो। बाढी आएको करिब डेढ महिनापछि अफिसले मेलम्ची आसपास सम्भव भएको ठाउँसम्म पुग्न भनेको थियो। गन्तव्य पुग्नुअघि गाडी रोकिएपछि हामी तीनैजना मोबाइल, डायरी र कलम लिएर मेलम्चीको माटोमा पाइला मिसायौं। ओहो ! मेलम्ची त अझै उर्लिनै अवस्थामा रहेछ। बाढी छिरेर फुस्रा भएका घरहरू र ठूला–ठूला बुलडोजर, स्काभेटरका बिच खुल्दै गरेको मेलम्ची बजार। मेलम्ची बजारभित्र नै पसेको खोलाले घरखेतसँगै सडक पनि कटान गर्दै लगेको अवस्था। ढुंगा नै ढुंगाको बगर र धाराप्रवाहसहित बगिरहेको मेलम्ची देख्दा एकाएक अत्यास लाग्यो। अझ बाढी आउँदा कत्ति डरलाग्दो भयो होला मेलम्चीको रूप ? फोटोग्राफर सुनिता मेलम्चीलाई आफ्नो क्यामेरामा कैद गर्नतिर लाग्नुभयो।

मेलम्ची बजारबाट हेलम्बु जाने बाटोतिर गयौं। त्यहाँ बाढीले बगाएर ल्याएको लेदो माटोको थुप्रो थियो। त्यहाँबाटै मेलम्ची खोलालाई नियाल्यौं। नजिकै त्यहाँकै स्थानीय जेष्ठ नागरिक श्रेष्ठ बा र दुलाल बा पनि गफिँदै हुनुहुन्थ्यो। हामी उहाँहरूको नजिकै गयौं र सोध्न थाल्यौं। उहाँहरूको कथनअनुसार अहिलेसम्म मेलम्चीमा न यति ठूलो बाढी आएको सुन्नुभएको थियो न त देख्नु नै। झोलुंगे पुल छुन आइपुग्थ्यो रे मेलम्ची तर अहिलेको जस्तो वितण्डा भने मच्चाउँदैनथ्यो। एउटा कुनाबाट बग्थ्यो। ‘यहाँ हाम्रो खेत थियो’ दुलाल बाले देखाउँदा विश्वास नै गर्न गाह्रो भयो हामीलाई। जुन खेत अहिले सबै बगर छ। यहाँ पनि कसैको घरखेत हुनसक्छ र ? जस्तो लाग्ने। पहिलादेखि नै मेलम्ची यहीँ चौडाइमा नै बगिरहेको छ जस्तो लाग्ने रैछ हामी पछि जानेलाई। तर, उनीहरूका पुस्तौंपुस्ताले त्यही खोलाको किनारामा खेती किसानी गरेर जीविकोपार्जन गर्दै आइरहेको सत्य हो। ‘हामीले खोला मिचेर घरबारी बनाएका होइनौं, खोला नै हाम्रो घरबारीमा छिरेको हो’, यसमा सबैको एकस्वर थियो। 

 

हाम्रो मुख्य उद्देश्य थियो, मेलम्ची खानेपानी आयोजनाको संरचनाको वर्तमान अवस्थाबारे सूचना संकलन गर्नु। नजिकको स्थानसम्म पुग्न आयोजनाकै साइड सहायक धर्मराज देवकोटालाई भेट्न गयौं। मेलम्ची बजारमा नै सशस्त्र क्याम्पभित्र आयोजनाको कार्यालय पनि रहेछ। बाढीले आयोजनाका घरटहरा पनि पुरेको रहेछ। मुख्य भवनको पनि डेढ तल्लासम्म बाढी पसेर जमेको लेदो सफा गर्न व्यस्त हुनुहुँदो रहेछ, देवकोटा सर। उहाँसँगको चिनापर्चीपछि जहाँसम्म गाडी पुग्छ, त्यहीँसम्म हामीसँगै जाने कुरा भयो। बिहानको ९ पनि बजिसकेकाले खाना खाएर नै अघि बढ्ने सल्लाह भयो। सर कोठातिर लाग्नुभयो भने हामी होटलको खोजीमा।

अन्नपूर्ण पोस्टका सिन्धुपाल्चोक सहकर्मी युवराज पुरीसँग मेलम्ची बजारमा भेट्ने सल्लाह भएको थियो। मेलम्ची बजारमा खुलेका केही होटलबोहक त्यसअघि खाने ठाउँ नै नभएको देवकोटा सर र युवराज सरको जानकारीअनुसार नै मेलम्चीमै खाना खायौं। टोली मेलम्ची बजारबाट अघि बढ्यो। मेलम्ची बजारबाट आयोजनाको मुख्य सुरुङ भएको अम्बाथानसम्म करिब २४ किलोमिटर बाटो आयोजनाले नै बनाएको रहेछ। ग्राबेल बाटोमा ५ वटा पक्की पुलसहित निर्माण गरिएको रहेछ। बाढी आएपछि करिब एक हप्तासम्म मेलम्ची बजारबाट अघि बढ्ने मोटरबाटो बिग्रिएको करिब एकसातापछि १६ किलोमिटर बाटो सम्याइएको रहेछ। त्यहीँ बाटोमा पर्ने चन्नौटा बजारस्थित रातोपुलबाहेक अरू पुल र ८ किलोमिटर बाटो नै बगाएको रहेछ। देवकोटा सरले पनि त्यहीँ रातोपुलसम्म गाडी जाने र त्योभन्दा अघि क्यूलसम्म बिग्रिएको बाटो हिड्न भने मिल्ने रहेको जानकारी दिनुभयो। क्यूलबाट अम्बाथानसम्म करिब ८ किलोमिटर बाटो भने खोलामा नै परिणत भएको रहेछ।

चन्नौटासम्म पुग्दा पनि ठाउँठाउँमा बाटो धेरै बिग्रिएको रहेछ। कति ठाउँमा पानीको बहाबले काट्दै लगेको पनि देखियो। आयोजनास्थलसम्म पुग्ने बाँकी रहेको एकमात्र रातोपुल तरेपछि गाडी अघि नजाने भयो। अब केहीपरसम्म हिडौं भन्ने छलफलपछि हामी अघि बढ्यौं। खोलामाथि ढुंगा सम्याएर बाटो बनेको रहेछ। मोटरसाइकलको केही आवाज सुनिन्थ्यिो, त्योदेखि बाहेक डरलाग्दा डोजर र तिनका आवाज मात्र सुनिए। डोजर खोलामा पसेर यताउति ढुंगा मिलाउँदै थियो। खोलाको बाटोलाई पुरानै लयमा फर्काउन गरिएको प्रयास रहेछ। त्यो स्थानलाई गणेश बगर भनिँदोरहेछ। बाटोको खोलातिर रहेका घरहरू बगाइनसकेको तर भुइँचालोले जस्तो गरी ढलेका रहेछन्। एउटा तीन तल्लाको घर, ढल्किएको एकजना तामाङनी आमा त्यही घरको मूलढोकामा बसेको देख्यौं। छेवैमा पुगेर आमालाई सौध्यौं। त्यो उहाँको नै घर रहेछ। बनाएको धेरै समय पनि भएको रहेनछ।

कुरा गर्दागर्दै आमा रुन थाल्नुभयो। घर खेतबारी, दुई जना छोराबुहारी, नातिनातिना रहेको उहाँको परिवार खेतीकिसानी गरेर बसेको रहेछ। भाडा पनि लगाइएको रहेछ। तर, मेलम्चीको बाढीले एकैछिनमा सुकुम्बासी बनाइदिएछ। घरभन्दा अलिक माथि डाँडामा बनाइएको अस्थायी टहरामा अरू बाढीपीडितजस्तै उहाँको परिवार पनि बस्दोरहेछ। दिउँसो त्यही ढल्केको घरको भित्र–बाहिर गरेर बिताउनु हुँदोरहेछ। आमा रोएको देखेर तीन वर्षको नाति पनि रुँदा हामीले अरू प्रश्न गर्नै सकेनौं। आमालाई सान्त्वना दिँदै बजारतिरै फर्कियौं। किनभने देवकोटा सरले अम्बाथानसम्म आजै पुग्न नसक्ने बताइसक्नु भएको थियो। फर्किदा पनि ती आमा रोएको दृष्य सम्झेर साह्रै नमाजा लागिरहेको थियो।

सरकारको मुख ताक्नुभन्दा आफैं पुनर्निर्माण गर्नेतर्फ पनि स्थानीय सजग भएको पाइयो। काम सकेर साँझ ५ बजेतिर देवकोटा सर र युवराज सरलाई विदा गरी काठमाडौं फर्कियौं। २०७८ साउन १४ गते बिहीबार मेलम्ची पुगेका थियौं, आइतबार र सोमबार हामीले तयार पारेको मेलम्चीको विशेष प्याकेज अन्नपूर्णमा मेन स्टोरी भयो, मूल मुद्दामा छापियो। दुर्भाग्य, त्यही शनिबार मेलम्चीमा फेरि अर्को ठूलो बाढी आयो र थप क्षति पुर्‍यायो।

छुटाउनुभयो कि?

सबै