• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

एन्फा विवाद : प्रवक्ता राईको राजीनामा

  • २०७८ साउन १९ मंगलबार
  • Yugbani

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) मा चल्दै आएको विवादले सोमबार फेरि अर्को मोड लिएको छ। विवादकैबीच एन्फा केन्द्रीय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन्। प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका छन्। 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्। अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई असन्तुष्ट देखिएका थिए। सोमबार प्रवक्ताबाट राजीनामा दिएलगत्तै राईले एन्फाको तत्काल चुनावको समेत माग गरेका छन्। वर्तमान फुटबलमा देखिएको विवादको समाधान चुनावबाट मात्र सम्भव भएकाले उनले ‘अर्ली’ चुनावको माग गरेको बताएका छन्।

 

‘एन्फामा देखिँदै आएको विवादको समाधान अहिले हाम्रो हातमा छैन। अहिले चलिरहेको शक्ति संघर्षको समाधान भनेको चाँडोभन्दा चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ’, राईले भने, ‘फुटबलमा पछिल्लो समय जालझेल र षड्यन्त्र उत्कर्षमा पुगेकाले फुटबलको विकासमा नराम्रो असर पुर्‍याउँछ। त्यसैले हामीले हिलो छ्यापाछ्यापलाई अन्त्य गर्नुपर्छ।’ 

मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरण र उनले वरिष्ठ उपाध्यमाथि लगाएको आरोपले फुटबल विवाद उत्कर्षमा पुगेका बेला राईले संस्थागत धारणा राख्दै आएका थिए। प्रवक्ताबाट राजीनामा दिएपछि उनले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा आपत्ति पनि जनाएका छन्। फुटबलभित्रको विवादको समाधान एन्फाभित्रै खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेर एन्फाले गलत नजिर स्थापित गरेको दाबी गरे।

‘युवा तथा खेलकुद मन्त्रालयलाई छानविनका लागि सिफारिस गर्ने निर्णयमा हाम्रो गल्ती भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम र फुटबलको मर्म अनुसार संघभित्रको समस्या त्यहीँभित्रबाट समाधान खोजिनु पर्छ’, उनले भने, ‘बैठकले तेस्रो व्यक्तिको आह्वान गरेको छ। यसले खराब नजिर स्थापित गरेको छ। संघभित्रको विषय मन्त्रालयले हल गर्न सक्दैन। त्यो फेरि घुमेर एन्फामै आउँछ।’ उनले बैठकमा संघभित्रको समस्याको समाधान आफैले खोजिनुपर्ने र मन्त्रालयलाई गुहार्न नहुने माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूसमेत मुछिएको विषयमा उच्चस्तरीय छानविन गर्नुपर्ने भन्दै मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गराएको राईले दाबी गरे। उनले प्रवक्ताको जिम्मेवारीमा बसेर स्वतन्त्र रुपमा धारणा राख्न नसकिने भएकाले राजीनामा दिएको बताए। ‘प्रवक्ताको जिम्मेवारीमा रहुञ्जेलसम्म मैले आफ्नो धारणा राख्न नपाउने भएँ। नैतिकताको हिसावले पनि संस्थागत धारणा मात्रै राख्नुपर्ने भयो’, राईले भने, ‘आफ्नो व्यक्तिगत धारणा पनि बाहिर ल्याउन सकुँ भनेर प्रवक्ताको पदबाट राजीनामा दिएको हुँ।’

उनले प्रशिक्षकको राजीनामा प्रकरणमा वरिष्ठ उपाध्यक्षमाथि अन्याय भएको दाबी गरे। प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहे पनि मध्यस्तकर्ताको भूमिका निर्वाह भने गरिरहने प्रतिवद्धता उनले जनाएका थिए। एन्फाभित्रको पछिल्लो शक्ति संघर्षको कारण देखाउँदै एन्फा सहमहासचिव बसन्त अर्यालले पनि आइतबार राजीनामा दिएका थिए। 

छुटाउनुभयो कि?

सबै