• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

विदेशबाट भिसा आएपछि काठमाडौं जान हिँडेका थिए जयसिंह, तुइन चुडिएर महाकालीमा भए बेपत्ता

  • २०७८ साउन १५ शुक्रबार
  • Yugbani

शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए।

राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो।

वडा नम्बर २ का वडा सदस्य वीरेन्द्र बुढाथोकीका अनुसार नेपालको भूमिबाट ठाउँ-ठाउँमा सडक भत्केर सदरमुकाम आउन सम्भव छैन। नदी पारी गएपछि भारतका गाडी प्रयोग गरेर खलंगा पुग्न सकिने भएकाले स्थानीयहरू तुइनबाट महाकाली तर्छन्। त्यहाँबाट भारतीय भूमि प्रयोग गरी सदरमुकामसम्म पुग्छन्।

नुन-तेल किन्नदेखि मालपोतमा कर तिर्न र नागरिकता बनाउन उनीहरूले यो बाटो हुँदै सदरमुकाम आउनुपर्छ। महाकाली नदीमा नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने यो रज्जुमार्ग पुस्तौंदेखि छ।

 

 

शुक्रबार बिहान सवा ८ बजेतिर वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए।

विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए।

स्थानीय बहादुरसिंह धामी र तुइन सञ्चालक कल्याण धामी त्यहीँ थिए।

एक-एक जना गरी उनीहरूले तुइन तर्न सुरू गरे। भत्ता लिन जाने ३ जना तरिसकेका थिए। काठमाडौं जानेवाला २ जना वारि नै थिए।

 

जयसिंहको तर्ने पालो आयो। ३३ वर्षका जयसिंहले ७ वर्ष जति नेपाली सेनामा काम गरेपछि जागिर छोडेका थिए। अहिले उनी विदेश जाने तयारीमा थिए।

‘काठमाडौंमा भिसा आएको भन्ने खबर एक-दुई दिन अगाडि आएको थियो, त्यही कामका लागि काठमाडौं जान हिँडेका थिए,’ जयसिंहका भाइ नरेन्द्र धामीले भने।

तुइन सञ्चालक कल्याण धामीका अनुसार जयसिंह डेढ मिनेट जति तुइन तानेर पारी पुग्नै लागेका थिए। त्यही बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान हतियारसहित पुगे।

‘उनीहरूले रूखमा बाँधेको तार मोडेर खोले। तार फुत्केर आयो। झुलेर पानीमा छोयो। पानीले तार बगायो। तारसँग लड्पडिएर जयसिंह पनि खसे,’ उनले भने।

एसएसबीले तार खोलेको जयसिंहले थाहा नपाएको उनको अनुमान छ।

‘हामीले एसएसबीलाई तार नखोल्नु भनेर सलाम गर्‍यौं, इसारा गर्‍यौं तर मानेनन्,’ उनले भने।

जयसिंह महाकालीको छेउबाट बगेको उनीहरूले देखेका थिए। उनलाई पौडी खेल्न आएन।

‘तलसम्म बगेको देख्यौं, पौडी खेल भनेर सिटी मार्‍यौं, हल्ला गर्‍यौं, उनले पौडी खेल्न सकेनन्। लगभग २० मिटर तल पुगेपछि डुबे,’ उनले भने।

 

उनी डुबेपछि प्रत्यक्षदर्शीले गाउँमा खबर गरेका थिए।

घटनाबारे खबर पाएपछि गाउँलेहरू दौडिँदै पुगे। उनीहरूले खोजी सुरू गरे।

यस ठाउँमा नेपाल र भारतीय सीमावर्ती क्षेत्रमा बस्नेबीच रोटी-बेटीको सम्बन्ध रहेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक सुकुन्दसिंह धामीले बताए।

‘पारि भारतको गस्कुका मान्छे हाम्रा साथी, इस्टमित्र पनि छन्। पाङ्ला भन्ने ठाउँमा पनि स्टमित्र छन्,’ उनले भने।

त्यहाँबाट पनि आफन्तहरू आएर नदीमा बेपत्ता भएका जयसिंहको खोजी गर्न थाले।

पारि तरेका मान्छे एसएसबीको चौकी गएका छन्।

‘अहिले स्थानीयले खोजी गरिरहेका छन्। भारतको प्युतोलासम्म पारिबाट गाडी लिएर त्यहीँका आफन्तहरू गएका छन्, नेपालबाट बाटो छैन,’ धामीले भने।

उनका अनुसार ६  दिनअघि सोही तुइनबाट एकजना झरेका थिए। पौडी खेलेर उनी महाकाली किनार आउन सकेको उनले बताए।

अहिले घटनास्थलमा प्रहरी पनि पुगेको छ। नदी बढेकाले खोजी कार्य गर्न समस्या देखिएको छ।

नेपाल सरकारका तर्फबाट २०७४/७५ मा तुइन भएको मालघाटमाथि पुल बनाउन सहमति भएको छ।

यसका लागि ठेक्का सम्झौता पनि भएको छ। पुलको शिलान्यास गर्न नेता लक्ष्मी जोशी र प्रदेश सांसद गेल्बुसिंह बोहोरालगायत पुगेका थिए।

शिलान्यासपछि पुल निर्माणको काम सुरू भएको तर ठेकदारले अझै बनाइ नसकेको वडा सदस्य बुढाथोकीले बताए।

तीन वर्ष बढी समयसम्म पनि पुल नबनेपछि स्थानीयहरू तुइनको प्रयोग गर्न बाध्य छन्।

सशस्त्र प्रहरी बल दार्चुलाका एसपी नरेन्द्र बमले भारतीय एसएसबीका कमाण्डरसँग घटनाबारे कुरा भएको बताए।

‘तुइन गैरकानुनी हो। सहजताका लागि मानिसहरूले प्रयोग गरेका हुन्। एसएसबीले देखे काट्छ। मान्छे तर्दातर्दै काटेको हो कि होइन भनेर सोधें। उताबाट टोली पुग्दा मान्छे खसिसकेको भन्ने छ,’ उनले भने।

मान्छे देख्दादेख्दै काट्नु त गोली हानेसरह हो, त्यसो गरेको छैन भन्ने भारतीय पक्षको भनाइ छ।

जिल्ला प्रशासनले घटनाबारे गृह मन्त्रालयलाई पत्र काटेको  छ। घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि?

सबै