• ३० असोज, शनिबार
  • , Oct 16, Saturday

के हो प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङको विवाद ?

  • २०७८ साउन ११ सोमबार
  • Yugbani

१० साउन, काठमाडौं । अबदुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक भएपछि नेपालको खेलप्रति समर्थकहरु मात्र होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) पनि सन्तुष्ट थियो । उनको कार्यकाल थप गर्न कतार फुटबल संघलाई आग्रह गरिसकेको थियो ।

नेपाली फुटबल समर्थकलाई अलमुताइरीले सामाजिक सञ्जालबाट राजीनामा दिन लागेको घोषणा गरे । उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय नेपाली फ्यान ….म राजीनामा दिन एन्फा जाँदैछु । र, मेरो राजीनाको कारण वरिष्ठ उपाध्यक्ष हुन्, जसले पछिल्लो तीन साता धेरै नाटक गरेका छन् ।’

 

 

 

 

‘मलाई आशा छ, अब पंकज नेम्वाङ खुसी हुनेछन्,’ उनले अघि भनेका छन् ।

अलमुताइरीको यो घोषणाले फुटबल समर्थक मात्र होइन, एन्फा पदाधिकारीहरु समेत आश्चर्यमा परे । ‘हामी उनको कामप्रति सन्तुष्ट छौं र कार्यकाल थप गर्न लागेका छौं । एकाएक राजीनामा दिन्छु भन्नु हाम्रा लागि अप्रत्यासित थियो’ एक पदाधिकारीले भने ।

अध्यक्ष कर्माछिरिङ शेर्पाले तत्काल मुख्य प्रशिक्षक अलमुताइरीलाई बोलाएर भेटेका छन् र उनको राजीनामा रोक्न प्रयास गरेका छन् । एन्फा कम्प्लेक्स पुगेका अलमुताइरीलेआफू तनावमा रहेको जानकारी गराएको एन्फा प्रवक्ता किरण राईले बताए ।

के हो अलमुताइरी र नेम्वाङको लफडा ?

चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका अलमुताइरी खेलाडी मात्र होइन, सबैको सोच परिवर्तन गर्नुपर्छ भनिरहन्छन् । उनले धेरै अन्तर्वार्तामा यस्तै भनेका छन् ।

पछिल्लो पटक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले त्यसमा आपत्ति जनाए । एक पदाधिकारीका अनुसार उनले अध्यक्ष कर्माछिरिङ शेर्पालाई सामाजिक सञ्जालमा ब्रदर भन्ने गरेकोमा समेत असन्तुष्टि जनाएका थिए । उनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेटेर मुख्य प्रशिक्षक अलमुताइरीलाई तत्काल स्पष्टीकरण सोध्न आग्रह गरेको पाइएको छ ।

नेम्वाङले पनि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको पनि मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने अलमुताइरीको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण लिनुपर्‍यो भनेर आफूले महाचिवलाई भनेको स्वीकार गरे । उनले भने, ‘महासचिवले एक दिनपछि मैले सोध्दा अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ । त्यो बाहेक उनीसँग मेरो केही छैन ।’

स्रोतका अनुसार महासचिवले प्रशिक्षक, म्याजेनर लगायतलाई बोलाएर छलफलसमेत गरेको पाइएको छ ।

त्यसक्रममा अलमुताइरीले आफूले कुनै व्यक्तिको भन्दा पनि खेलाडीसँगै सबैको सोच बदल्नुपर्छ मात्र भनेको बताए । साथै एन्फा अध्यक्षलाई अब सामाजिक सञ्जालहरु सम्बोधन गर्दा ब्रदर मात्र नभनेर प्रेसिडेण्ड ब्रदर भन्ने वचन दिए ।

उनको यही वचन वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई सुनाइएको थियो । तर यो बीचमा अर्को विवाद आयो, मुख्य प्रशिक्षक अलमुताइरीद्वारा पत्रकारलाई दुर्व्यवहार ।

७ साउनमा एन्फा कार्यालय परिसरको सार्वजनिक स्थानमा धुमपान गरेको विषयमा प्रश्न गर्दा पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ र खेलकुद पत्रकार मञ्चले प्रशिक्षक अलमुताइरीमाथि कारबाही गर्न माग गरे ।

यसमा नेम्वाङको भूमिकालाई लिएर मुख्य प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाएका छन् । आइतबार एन्फा अध्यक्षसँग भएको छलफलमा ले नेम्वाङले आफ्नो विरोधमा आएका समाचारहरु शेयर तथा लाइक गर्ने गरेको गुनासो गरेका थिए । एक अधिकारी भन्छन्, ‘उहाँहरुबीच राम्रो सम्बन्ध रहेनछ !’

यद्यपि अध्यक्ष शेर्पाले तत्काल राजीनामा नदिन आग्रह गर्दै अलमुताइरीलाई फकाएका छन् । एन्फाका एक पदाधिकारीका अनुसार शेर्पा पर्सि पोखरा गएपछि थप छलफल हुनेछ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने यो घटनाबारे छानविन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् । ‘छानविन गर्दा कोको दोषी देखिन्छ, उनीहरु कारबाहीको भागिदार हुनुपर्छ,’ उनले भने, ‘म दोषी देखिए भने फुटबल संघबाट राजीनामा दिन तयार छु ।’

छुटाउनुभयो कि?

सबै