• १० चैत, सोमबार
  • , Mar 24, Monday

युरोकप फुटबल : उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्ने

  • २०७८ असार २६ शनिबार
  • Yugbani

एजेन्सी : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको उपाधि नजिक पुगेको हो।

 

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कप्तान ह्यारी केनले विजयी गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्‍याएका हुन्। खेलको ३० औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। तर खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी हुन पुग्यो।

खेलको १०४ औं मिनेटमा इंग्ल्यान्डलाई रेफ्रीले पेनाल्टी दिएका थिए। कप्तान केनको पेनाल्टी प्रहारलाई गोलकिपर स्माइकलले रोक्न सफल भएपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

योसँगै अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ। 

इटाली उपाधि नजिक

इटाली लन्डनमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो। वेम्बली रंगशालामा खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा इटालीले स्पेनलाई ४–२ गोलले स्तब्ध बनाउँदै फाइनल यात्रा तय गर्‍यो।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको बर्नार्डेस्ची र जोर्गिन्होले गोल गरेका थिए। म्यानुयल लोकाटेल्लीले भने गोल गर्न सकेनन्। स्पेनका जेरार्ड मोरेनो र थिएगो अल्कान्टाराले मात्रै गोल गर्न सकेका थिए। डानियल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।

पेनाल्टीमा खेल पुग्नुअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा भने इटालीले सुरुआती अग्रता बनाएको थियो। खेलको ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए। काउन्टर एट्याकमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए।
खेलको ८०औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काएका थिए। फरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान छिरेका उनले डानियल ओल्मोको पासमा गोल गरेका थिए।

तीन पटकको च्याम्पियन स्पेनको फाइनलमा पुग्ने लक्ष्यमा भने गम्भीर धक्का लागेको छ। स्पेनले यसअघिका सबै पाँच सेमिफाइनलमा जित निकालेको थियो। सन् १९६४, २००८ र २०१२ को विजेता स्पेनको चार पटक युरोपियन च्याम्पियनसिप (युरोकप) जित्ने सपना पूरा हुन सकेन। अन्य युरोपेली राष्ट्रको तुलनामा इटाली र स्पेनबीच सबैभन्दा धेरै पेनाल्टी सुटआउट भएको छ। यी दुई राष्ट्रबीच नतिजा अहिलेसम्म १० पटक पेनाल्टी सुटआउटबाट लिइएको छ। जारी युरोकपमा इटालीले १२ गोल गरिसकेको छ। सेमिफाइनलबाटै घर फर्किएको स्पेनले भने १३ गोल गरेको छ। 

यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ। इटालीले यसअघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको थियो। इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो। इटाली युरोकप र विश्वकपजस्ता मुख्य प्रतियोगिताको सेमिफाइनलमा १०औं पटक पुगेको छ। युरोकपको फाइनलमा स्थान बनाएको भने चौथो पटक हो। इटालीले यसअघिका तीन फाइनल भिडन्तमा एक खेलमा मात्र जित निकाल्न सकेको छ। सन् १९६८ मा युगोस्लाभियालाई पराजित गर्दै उपाधि जितेको थियो।  

इटालीले क्वार्टरफाइनलमा फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। स्पेनले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको थियो।

छुटाउनुभयो कि?

सबै