• १४ मंसिर, मंगलबार
  • , Nov 30, Tuesday

नाम मात्रको ‘स्मार्ट लकडाउन’

  • २०७८ असार १९ शनिबार
  • Yugbani

काठमाडौं उपत्यकाको व्यापारिक केन्द्र असन बजारको फुटपाथमा बुधबार साना नानीहरुका लुगा बिक्रीका लागि ग्राहकहरुसँग मोततोलमा व्यस्त थिइन् ईश्वरी थापा । असनको साँघुरो गल्लीमा रहेको ईश्वरीको पसलमा ग्राहकहरु पनि मोलमोलाइमा व्यस्त थिए ।ईश्वरीसँगै उनको पसलमा आउने ग्राहकलाई देख्दा लाग्थ्यो कोरोना महमारीको जोखिम नै छैन । पसलमा आउने ग्राहक र उनीबीच न सामाजिक दूरी कायम थियो, न मास्क लगाउने तरिका नै सही थियो ।कोरोना महामारीलाई लक्षित गरी निर्धारित जनस्वास्थ्यका मापदण्डबारे ईश्वरी र उनको पसलमा आउने ग्राहकलाई जानकारी नभएको होइन । तर उनीहरु त्यसको पालनामा जिम्मेवार देखिएका थिएनन् ।

यद्यपि, ईश्वरीलाई कोरोना संक्रमण हुन्छ कि भन्ने त्रासले भने सताइरहन्छ । मानिसहरुको भिड देख्दा मन डराए पनि रोगभन्दा भोकले बढी सताएर फुटपाथमा पसल गर्न निस्किएको उनले सुनाइन् ।

‘स्मार्ट लकडाउन’को पहिलो दिनमात्रै नभएर त्यसअघि पनि प्रहरीको आँखा छल्दै दैनिक रुपमा उनले बिहान ११ बजेसम्म यसरी नै व्यापार गर्दै आएको बताइन् ।

बहालमा कोठा लिएर दुई छोराछोरी अनि श्रीमानसँगै बस्दै आएकी उनको परिवारले गुजारा चलाउने मुख्य आधार फुटपाथको व्यापार नै हो । त्यसैले निषेधाज्ञाका बाबजुद प्रहरीको आँखा छल्दै जोखिम मोलेरै भए पनि व्यापार गर्न बाध्य भएको उनले सुनाइन् ।

 

सरकारले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई असार ७ गतेदेखि खुकुलो तुल्याएर स्मार्ट लकडाउन सुरु गरेको हो । स्मार्ट लकडाउनअन्तर्गत पहिलो दिन बुधबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड, असन क्षेत्रका कपडा, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, डिपार्टमेन्ट स्टोर (ग्रोसरीबाहेक) खुला थिए ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, महाबौद्ध क्षेत्रका पसल, गोदाम अनि फुटपाथमा जनस्वास्थ्यका मापदण्ड पालना नगरिकन गरिएको व्यापार व्यवसायले संक्रमितको ग्राफ उकालो लाग्ने निश्चितजस्तै रहेको जनस्वास्थ्यविद् बताउँछन् ।

 

स्मार्ट लकडाउनकै क्रममा बुधबार विशाल बजारमा पनि ग्राहकको भिडभाड उल्लेख्य देखिन्थ्यो । विशाल बजारस्थित एउटा साडी पसलमा मोलतोल गरिरहेकी बौद्धकी प्रमिला गुरुङले बजार खुलेसँगै जोखिम बढेको स्वीकार गरिन् । तर मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गरेका कारण आफू जोखिमबाट टाढा रहेको उनको भनाइ छ ।

इन्द्रचोक नजिककै विगत १९ वर्षदेखि सलको पसल गर्दै आएका बाजुराज प्रधान लामो समयपछि पसल खोलेकाले ग्राहकको भिड लागेको सुनाउँछन् । ‘दिउँसो ४ बजेसम्म पसल खुल्छ, ठाउँ सानो छ, पसलमा आएका ग्राहकलाई कसरी नआऊ  भन्ने ?’ उनले भने, ‘सामाजिक दूरी कायम गरेर पसलमा आऊभन्दा एकैछिनमा इन्द्रचोकमा लाइन बन्छ, यहाँ हाम्रोमात्रै पसल छैन ।’ आफूले ग्राहकलाई रोकेमा अरु पसलमा जाने भएकाले पनि कोरोनासँग डराएर गुजारा नचल्ने उनको भनाइ छ ।

सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै डेढ महिना लामो निषेधाज्ञालाई स्मार्ट लकडाउनमा परिणत गरी असार ७ गतेदेखि बारअनुसार भिन्नभिन्न व्यापार व्यवसाय पालैपालो खोल्ने व्यवस्था मिलाएको छ । तर, भिडभाड कम गर्नका लागि व्यापार व्यवसाय आलोपालो गरे पनि न्यूरोड, इन्द्रचोक, विशालबजार क्षेत्रमा पार्किङ गर्ने सवारी साधनको संख्या स्मार्ट लकडाउनमा र अन्य समयको तुलनामा बराबर रहेको पार्किङका कर्मचारी श्याम तामाङले बताए ।

 

पहिला पनि दैनिक ५/६ हजार रुपैयाँ संकलन हुने गरेकोमा अहिले पनि त्यही हाराहारीमा पार्किङ शुल्क उठेको उनले सुनाए । निषेधाज्ञाको लामो समयपछि बुधबार खुलेका पसलमा जनस्वास्थ्यका मापदण्ड पालना नगरीकन आवतजावत गर्नेको संख्या उल्लेख्य भएकाले कोरोना संक्रमण तीव्ररुपमा फैलन सक्ने जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

व्यापारीले रोगकोभन्दा भोकको कारण देखाउँदै जनस्वास्थ्यका मापदण्ड अर्थात् सामाजिक दूरी, मास्क, सेनिटाइजर प्रयोगमा ख्याल नगरिकन व्यापार गर्ने, ग्राहकले पनि जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा पुनः कोरोना संक्रमण बढ्नसक्ने जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।

 

। सरकारले स्मार्ट लकडाउनमा भिडभाड कम हुने गरी बजार खोल्ने, सवारीसाधन गुडाउने नीति बनाए पनि व्यावहारिक बन्न नसकेको उनको भनाइ छ । ‘कोरोना संक्रमणको चेन ब्रेक नगरिकन सबैलाई अलमल पार्ने स्मार्ट लकडाउनमा पसलेहरु व्यापारको लागि आतुर हुने, एउटै गाडीमा कोचिएर २÷३ का दरले किनमेल गर्न जाँदा झन् जोखिम बढ्यो,’ उनले भने, ‘झन् भिडभाड गराउनभन्दा सबै पसल खोल्न दिए हुन्छ कि, नत्र नामजस्तै लकडाउनलाई स्मार्ट बनाउनुपर्छ ।’

कोरोना परीक्षण, कन्ट्याक्ट टे«सिङ बिना, पाइलटिङ रुपमा परीक्षण नगरी गरिएको स्मार्ट लकडाउनले जोखिम उच्च भएको डा. मरासिनी बताउँछन् ।

‘काठमाडौं महानगरपालिकाले सवारीसाधनको पार्किङको व्यवस्थापन गरेजसरी स्मार्ट लकडाउन अवधिभर एकतिरबाट किनमेल गर्न जाने र अर्को तिरबाट फर्किने व्यवस्था, भिडभाड गर्ने व्यापारिक केन्द्रमा महानगरका प्रहरीलाई परिचालन गर्नुपर्थ्यो,’ उनले भने । योजना बनाएर लकडाउन गरेको भए स्मार्ट लकडाउन हुन्थ्यो तर, यो नाममात्रैको स्मार्ट लकडाउन भएकाले महामारी फेरि बढ्न सक्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि?

सबै