शनिबार विहान साविक विजेता ब्राजिल र चिली प्रतिस्पर्धा गर्दैछन्। खेल विहान ५:४५ बजे सुरू हुनेछ।
आयोजक ब्राजिलले समूह चरणमा खेलेका चार मध्ये तीन खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेलेको थियो।
सुरुवाती तीन खेलमा जित हात पारेको ब्राजिल अन्तिम खेलमा इक्वेइडरसँग बराबरीमा रोकिएको थियो। जससँगै ब्राजिलको लगातार १० खेलमा जितको यात्रा टुंगिएको थियो।
चिली भने समूह 'ए' मा चौथो हुँदै अन्तिम आठमा पुगेको हो। एक जित हात पारेको चिलीले दुई बराबरी खेल्यो। चिलीले अर्जेन्टिना र उरुग्वेसँग बराबरी खेलको थियो।
दुई टिमबीच अहिलेसम्म भएका ७२ भिडन्तमा ब्राजिलले ५१ खेलमा जित हात पारेको छ। चिलीले १३ खेलमा जित हात पार्दा ८ खेल बराबरीमा सकिएका छन्।
पछिल्लो पटक चिली र ब्राजिलबीच सन् २०१७ अक्टोबरमा भएको भिडन्तमा ब्राजिलले ३-० को जित हात पारेको थियो। सन् २००० पछि दुई टिमबीच भएका १० भिडन्तमा चिलीले एक खेलमा मात्र जित हात पारेको छ।
ब्राजिल र चिलीबीचको भिडन्तअघि २:४५ बजे पेरु र पाराग्वेबीच अन्तिम आठको खेलमा प्रतिस्पर्धा हुनेछ।