• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

श्रीमतीलाई भुलिसकेका थिए, फेरि उनैसँग प्रेममा परेर बिहे गरे

  • २०७८ असार १५ मंगलबार
  • Yugbani

शनिबारको दिन थियो। पिटर र लिसा मार्सल काउचमा गुटुमुटु परेर एकअर्काको अँगालोमा बाँधिएका थिए। टिभीमा उनीहरूको मनपर्ने कार्यक्रम चलिरहेको थियो।

पिटरले पुलुक्क लिसाको आँखामा हेरे अनि भने, 'मसँग बिहे गर्छेऊ?'

लिसा उनको कुरा सुनेर एकछिन अलमल्ल परिन्, बेचैन भइन्।

उनी बेचैन हुनुको कारण थियो- ५६ वर्षीय पिटर उनकै पति थिए। यो कुरा लिसालाई त थाहा थियो, तर पिटरलाई थाहा थिएन। उनलाई लिसासँग आफ्नो विवाह भइसक्यो भन्ने अलिकति पनि सम्झना थिएन।

अमेरिका, कनेक्टिकट राज्यमा बस्ने पिटरलाई तीन वर्षअघि अल्जाइमर्स रोगले छोएको थियो। त्यसयता उनका सम्झनाहरू विस्तारै धमिलिँदै गए।

रोगले उनको प्रेम भुलाउन थाल्यो। उनले लिसालाई भेटेको बिर्से। उनको हात थामेर सँगै हिँडेको बिर्से। उनीसँग चुम्बन साटेको बिर्से। जीवनभर सँगै रहने कसम खाएर १२ वर्षअघि गरेको बिहे पनि बिर्से।

लिसासँग बिताएका ती सबै पलहरू सम्झनाको एक धर्सो पनि नराखी मस्तिष्कबाट यस्तरी चुहिँदै गए, जसरी बालुवाका कणहरू मुठ्ठीबाट चुहिँदै जान्छन्।

 

लिसाका लागि पिटरको यो अवस्था पीडादायी थियो।

'हामीले बिताएका क्षणहरू उनले सम्झिऊन् भन्ने मलाई लागिरहन्छ,' लिसा भन्छिन्, 'तर उनको दिमागबाट त्यो सम्झना हराइसक्यो।'

लिसा र पिटरको भेट ह्यारिसवर्ग, पेन्सिलभेनियामा बस्दा छिमेकीका रूपमा भएको थियो। उनीहरू अर्कै-अर्कै व्यक्तिसँग विवाहित थिए। आ-आफ्नै बालबच्चा हुर्काउन व्यस्त थिए।

यही व्यस्तताबीच उनीहरू नजिकिए, मित्रता झांगियो।

पछि पिटरको परिवार त्यहाँबाट कनेक्टिकट सर्‍यो। करिब एक वर्षसम्म उनीहरूको सम्पर्क भएन। 

एकदिन लिसालाई थाहा भयो, पिटरको डिभोर्स हुँदैछ। पिटरले पनि थाहा पाए, लिसा आफ्ना श्रीमानलाई छाड्दै छिन्।

उनीहरूले फेरि एकअर्कालाई भेटे। मित्रताले प्रेमको रूप लियो।

उनीहरूले यो प्रेमलाई तत्क्षण बिहेमा परिणत गरेनन्। दुवैले आफ्ना छोराछोरीबारे सोचे र उनीहरू कलेज भर्ना नहुन्जेल बिहे नगर्ने निधो गरे।

आठ वर्षसम्म बेग्लाबेग्लै ठाउँमा रहेर उनीहरूले एकअर्कालाई नजिक महशुस गरिरहे।

पिटरसँगको सम्बन्धलाई लिसा 'बेजोड रोमान्स' का रूपमा व्याख्या गर्छिन्। 

पिटरको सबभन्दा मनपर्ने कुरा के हो? यो प्रश्न सोध्दा लिसा निकैबेर मौन बसिन्, टप्किन खोजेका आँसु आँखाभरि थामिन् र भनिन्, 'उनले मलाई माया गर्ने तरिका। उनी एकदमै भद्र छन्। दयालु छन्। एकदमै जिस्किने स्वभावका छन्। रमाइला र रोमान्टिक छन्। उनी हाम्रो सम्बन्ध र मेराबारे जहिल्यै उत्साहित थिए।'

सबै कुरा मिलेपछि सन् २००९ मा लिसा पिटर भएकै ठाउँ, कनेक्टिकटमा सरिन्।

उनीहरूले बिहे गरे। वर्षौंसम्म अलग्गिएका प्रेमी भेटिएपछिको सुन्दर समय उनीहरूको जीवनमा आयो। 

दुवैले केही वर्ष थुप्रै मिठा सम्झनाहरू बुने। विस्तारै यो बुनाइ खुस्किन थाल्यो। लिसाले उनका श्रीमानमा केही बदलाव आएको महशुस गरिन्। यो बदलाव कहाँनिर पुगेपछि सबै भताभुंग हुन्छ भन्ने उनलाई थाहा थिएन।

सुरूमा पिटरले आफ्नो चाबी कहाँ राखेको छ भनेर बिर्सिन थाले। त्यसपछि पर्स भुले। विस्तारै उनले बोल्ने शब्दहरू गुमाए। के भन्दा के अर्थ लाग्छ भन्ने बुझ्न छाडे। वाक्य मिलाएर बोल्न उनलाई कठिन हुन थाल्यो।

लिसाले उनका यी सबै समस्यालाई बुढ्यौलीसँग जोड्दै थुम्थुम्याइन्।

'उनमा देखिएको बिर्सिने बानीलाई मैले गम्भीर रूपमा लिएकी थिइनँ। अरूलाई भनिनँ पनि। तर जब हाम्रा साथी र परिवारका सदस्यले पनि भन्न थाले, तब मलाई यो जटिल भइसकेको अनुभव भयो,' लिसाले भनिन्, 'पिटरलाई अलि लामो समय नदेखेकाले त उनलाई समस्या भइरहेको छ भन्ने ठ्याक्कै थाहा पाइहाले।'

सन् २०१८, अप्रिलमा पिटरको स्वास्थ्य परीक्षणपछि थाहा भयो, उनलाई अल्जाइमर्स भएको छ। उनी आफ्नो वर्तमान संसार भुल्दै गएका छन्।

'मैले यसबारे अध्ययन गर्न थालेँ। यसले हाम्रो जीवनमा ठूलो असर पार्छ भन्ने थाहा पाएँ। अनि यसले मेरा श्रीमानलाई मबाट अलग बनाउँछ भन्ने बुझेँ,' उनले भनिन्। 

नभन्दै अल्जाइमर्सले उनीहरूको जीवनमा एकदमै चाँडो डेरा जमायो। उनीहरूले जीवनभर सँगालेर राख्ने भनेका सम्झनाले पिटरको साथ छाडे। भुलिएकामध्ये एउटा मिठो सम्झना उनीहरूको बिहे पनि थियो।

यसैबीच एकपटक पिटर र लिसा ह्रोड टापू गए। त्यहाँ उनीहरूले समुद्री किनारमा समय बिताउन भाडाको घर लिएका थिए। त्यो भ्रमणकै बेला पिटरले पहिलोपटक लिसालाई चिनेनन्।

'हामी घर फर्किँदै थियौं। पिटर मलाई बाटोको दिशा बताउँदै मेरो घर जाने बाटो यो हो, दायाँ मोड भनिरहेका थिए। उनले मलाई एक अपरिचित गाडी चालकलाई झैं निर्देशन दिए। म त्यो ठाउँमा नयाँ आएकोजस्तो व्यवहार गरे,' लिसाले सम्झिइन्।

जब उनीहरू घर पुगे, तब पिटर गाडीबाट बाहिर निस्के। उनले लिसाका लागि गाडीको ढोका खोलिदिए र नयाँ मान्छेलाई झैं आफ्नो घर लगे।

'उनी मलाई अनजान मान्छे मानेर हाम्रो घर घुमाइरहेका थिए। त्यो बेला उनी एकदमै नर्भस भए,' लिसाले भनिन्, 'त्यो एकदमै रमाइलो र मायालु क्षण थियो। उनी आफ्नो वास्तविकतामा फर्केलान् भनेर मैले प्रतीक्षा गरिरहेँ। तर अहँ, उनी कहिल्यै फर्केनन्।'

त्यो दिनदेखि पिटरले नयाँ जीवन अपनाए। 

उनी लिसालाई आफ्नी श्रीमती भनेर चिन्थेनन्। उनले त लिसालाई भर्खर आफ्नो घर घुमाउन ल्याएका थिए। उनलाई लिसा मनपरेको थियो। अनि यो दिनपछिका सम्झनामा मात्र पिटरले उनलाई चिन्न थाले। त्यो पनि आधा-अधुरो।

लिसालाई पिटरसँगका पुराना सम्झनाले सताउँथ्यो। उनी आफ्ना श्रीमानले पहिलेका दिन सम्झेर आफूलाई माया गरेको सम्झिऊन् भन्ने सोच्थिन्। आफूलाई बीस वर्षदेखि प्रेम गरिरहेको मान्छे देख्न चाहन्थिन्। 

पिटर भने विगत भुलेर वर्तमानमा रमाइरहेका थिए। उनका लागि लिसा भर्खर चिनेकी महिला थिइन्, जोसँग उनी नयाँ-नयाँ सम्झनाहरू बुन्न चाहन्थे। आफ्नो जीवन उनैसँग बिताउने कल्पना गर्थे।

मायाको बाटो जतिसुकै अप्ठ्यारो भए पनि उनीहरूले एकअर्कालाई प्रेम गर्न छाडेनन्। 

दुई वर्षपछि सन् २०२० डिसेम्बर १२ मा, उनीहरू काउचमा एकैठाउँ गुटुमुटु परेर 'न्यू गर्ल' नामको सिरिज हेर्दै थिए। त्यसमा बिहेको भावुक दृश्य देखाएपछि लिसाको मुटुमा गाँठो पर्‍यो। उनी भक्कानिन्। पिटरले उनका आँसु देखे र हाँसे। अनि टिभीतिर देखाउँदै भने, 'लु हामी पनि गरूम्।' 

त्यो क्षण सम्झिँदै लिसा भन्छिन्, 'म त चकित खाएँ। के गर्ने भनेर सोधेँ। उनले ङिच्च हाँस्दै भने, बिहे गरूम्।'

पिटरले आफ्नै श्रीमतीलाई फेरि बिहेको प्रस्ताव राखेका थिए। त्यो बेला आफू एकदमै उत्साहित भएको लिसा बताउँछिन्।

'यो त मेरा लागि अकल्पनीय र साह्रै भावुक क्षण थियो। उनी मसँग फेरि प्रेममा परे। मैले आफूलाई निकै भाग्यमानी ठानेँ। म राजकुमारी हुँ जस्तो लाग्यो, सिन्ड्रेलाजस्तो। म संसारकै भाग्यमानी केटी हुँ,' ५४ वर्षीया लिसाले भनिन्।

बिहेको प्रस्ताव राखेपछिका क्षणहरूको भिडिओ लिसाले कैद गरिन्। त्यो भिडिओ आफ्ना छोराछोरीलाई पठाइन्। छोराछोरीले उनीहरूलाई आफ्ना बिहेका बाचा दोहोर्‍याउन प्रोत्साहित गरे। लिसालाई केही हिचकिचाहट भइरहेको थियो। तर पिटरको न्यानो प्रस्ताव र छोराछोरीको समर्थनले उनलाई सहज बनायो।

उनी पिटरसँग नयाँ जीवनका नयाँ सम्झना बुन्ने मौका गुमाउन चाहन्थिनन्।

बिहेको तयारीमा लिसाकी छोरी जुटिन्। चाहिने सरसामान र ठाउँहरू बन्दोबस्तमा उनका आफन्तले सघाए। अनि अप्रिल २६ मा लिसा र पिटर फेरि बेहुलाबेहुली भए। जीवनभरको साथी हुने बाचा गरे।

'मेरा लागि त उनी मसँग प्रेममा पर्नु नै ठूलो खुसीको कुरा थियो। म कुनै आशा नराखी बेहुली भएकी थिएँ। उनलाई लागेको रोगको कुनै भर थिएन, तर पनि म उत्साहित थिएँ,' लिसाले भनिन्, 'बेहुलीको लुगा लगाउँदा र मेकअप गर्दा मलाई काउकुती लागिरहेको थियो। त्यो बेलाको हरेक पल जादुमयी थियो।'

'पिटर दिनभर उज्याला र उत्साही थिए। साह्रै खुसी देखिन्थे। बिहेका कसम खाँदै गर्दा उनले लिसा, आई लभ यू भने,' लिसाले बिहेको त्यो क्षण सम्झिँदै थपिन्, 'मलाई चाहिएको त्यत्ति त थियो।'

यति मायालु समय अनुभूति गरिरहेकी लिसालाई थाहा थियो, बिहे चलिरहेकै बेला पिटरले उनलाई फेरि भुल्न सक्छन्। अपरिचित ठान्न सक्छन्। तर लिसालाई यसको चिन्ता थिएन।

'म उनको सबभन्दा मनपर्ने मान्छे हुँ,' उनी भन्छिन्, 'उनले मलाई माया गर्न मैले उनको श्रीमतीको उपमा पाउनुपर्दैन। उनले मलाई माया गरेर बोलाउने नाम पनि चाहिँदैन। पिटरले मलाई जुनसुकै रूपमा माया गर्छन्। हाम्रो मुटु यसरी जोडिएको छ, उनी मसँग सुरक्षित महशुस गर्छन्। उनी मलाई प्रेम गर्छन् र म उनलाई गर्छु। बस् यत्ति भए पुग्छ।'

आउँदा दिनमा उनीहरूको जीवन कस्तो हुन्छ, थाहा छैन। तर, लिसाले पिटरको ख्याल राख्न कुनै कसर बाँकी राखेकी छैनन्। अल्जाइमर्स बिरामीका हेरचाहकर्तालाई मद्दत पुगोस् भनेर ब्लग चलाउँदै आएकी उनको ध्यान अहिले पूर्ण रूपमा पिटरमा केन्द्रित छ। 

पिटरको रोग भने बढ्दै गएर गम्भीर भइसकेको छ। उनी नभएका कुराहरू देख्न थालेका छन्, मानसिक रूपमा अस्वस्थ छन् र उनका धेरै सम्झना मेटिइसके।

पिटरको स्वास्थ्यका कारण उनलाई उपचार केन्द्रमा राख्नुपर्ने पनि हुन सक्छ। तर यसले लिसा र पिटरको प्रेमलाई कुनै असर गर्दैन। उनीहरू जहाँ बसे पनि एकअर्काका हुन्, लिसा भन्छिन्, 'हामी अन्तिम क्षणसम्म सँगै हुनेछौं। हामीलाई केहीले पनि अलग्याउन सक्दैन, केहीले पनि।'

(सिएनएनमा प्रकाशित स्टोरीको भावानुवाद)

छुटाउनुभयो कि?

सबै