• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

छुम ज्यूलाको ३५ हजार हेक्टरमा कहिले होला रोपाइँ ?

  • २०७८ असार १५ मंगलबार
  • Yugbani

१५ असार, काठमाडौं । आज असार पन्ध्र अर्थात १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । विभिन्न औपचारिक कार्यक्रम गरेर धान खेती प्रोत्साहनका कार्यक्रम देशभरी चलिरहँदा संसारकै अग्लो ठाउँमा धान खेती हुने जमीनको ठूलो हिस्सा भने बाँझै छ ।

बजारमा उच्च माग र मूल्य भएको कालो मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी गाउँपालिकाको छुम चौर अर्थात छुम ज्यूलोमा यस वर्ष जम्मा दुई हेक्टर जग्गामा धान रोपाइँ भएको गाउँपालिकाले जनाएको छ ।

 

३५ हजार हेक्टरमा धान उत्पादन हुने अध्ययनले देखाए पनि २०औं वर्षदेखि ती ठाउँहरुमा धान रोपाइँ हुन नसकेको पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नाकली महतराले बताइन् । यस वर्ष जम्मा ४५ देखि ६० परिवार किसान मात्रै धान खेतीमा रहेको पनि उनले जानकारी दिइन् । ‘हामीले गरेको अध्ययनमा यस क्षेत्रमा ३५ हजार हेक्टरमा धान फल्ने पाइयो तर दुई हेक्टरमा मात्रै धान खेती गर्न सकिएको छ,’ उपाध्यक्ष महतराले भनिन् ।

कृषिमा महिलाहरु मात्रै खट्नु पर्ने र धान खेतीका लागि धेरै परिश्रम गर्नुपर्ने भएकाले विगतदेखि नै धान छोड्दै मकै, गहुँ, कोदो र जडीबुटी संकलनमा स्थानीयहरु लागेका उनको भनाइ छ ।

धान र यार्साको सिजन जुध्यो

संसारकै उच्च भूभाग (२८५० मिटर) मा धान खेती हुने उपत्यकामा कर्णालीको सीमी, जौ, गहुँ, मार्सी धान र यार्सा गुम्बा स्थानीयको प्रमुख आम्दानीका स्रोत हुन् । समुद्री सतहबाट २८ सय ५० मिटरमा उचाइमा रोपिने धान र यार्सा टिप्ने सिजन एकै पटक पर्दा किसानको रोजाइमा कृषि भन्दा पनि यार्सा परेको गाउँपालिकाकी उपाध्यक्ष पुन्नाकली महतरा बताउँछिन् । यहाँका मानिसहरु यार्सा संकलन गर्न जाने र त्यसैबाट मनग्ये आम्दानी हुने भएकाले तीन वर्ष अघिसम्म त धान रोपाइँ नै रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन् ।

‘सिंचाइ र मिहिनेतका कारण धानबाट भन्दा पनि मानिसहरु यार्सा संकलन राम्रो भनेर लागेका थिए । अहिले हामीले ऐतिहासिक धान खेती जोगाउन सिंचाइ सुधार, बिउ, मल र किसानलाई प्रोत्साहन गरिरहेका छौं,’ बुढ्थापाले भने ।

उच्च भूभागमा उत्पादन हुने काली मार्सी धान संरक्षण गर्न उक्त क्षेत्रमा गाउँपालिकाले दुई ठाउँमा पकेट क्षेत्र बनाएको र करिब ४५ परिवार किसानले यस वर्ष धानखेती गरेको गाउँपालिकाले जनाएको छ । जुम्लामा रातो र कालो गरी दुई थरी मार्सी धान पाइनेमा उक्त उच्च भूभागमा कालो मार्सी मात्रै उत्पादन हुने गरेको प्रशासकीय अधिकृत बुढ्थापाले बताउँछन् ।

मार्सी धानमा किसानलाई टिकाउने चिन्ता

छुमचौरका किसानले उत्पादन गरेको कालो मार्सी धानको चामल स्थानीय बजारमा दुई सय रुपैयाँ किलोमा बिक्री हुन्छ । तर चामलको तुलनामा यार्साको आम्दानी धेरै हुने भएकाले धेरै मानिसहरु यार्सा संकलन गर्न जान्छन् । यार्सा संकलन गर्न नसक्नेले पनि सहजताका लागि मार्सी बाहेकका अन्य खेती गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

किसानलाई मार्सी धानमा टिकाउन गाउँपालिकाले सिंचाइ सुधार आयोजना अन्तर्गत पक्की कुलो बनाएको र व्यापारीलाई किसानबाटै पाँच सय रुपैयाँमा चामल किन्ने वातावरण बनाइदिन लागीपरेको गाउँपालिका उपाध्यक्ष महतराले बताइन् । यहाँको धान र चामललाई अझै धेरै मूल्यमा बिक्रीको वातावरण बनाउन प्रदेश सरकारले बजेटबाट पनि ‘ब्राण्डिङ’को नीति लिएको गाउँपालिकाले जनाएको छ ।

एग्रो पर्यटन गुरुयोजना

किसानलाई जसरी पनि कालो मार्सी खेतीमा टिकाउने र संसारलाई धान फल्ने उच्च स्थानबारे चिनाउने उद्देश्यले गुरुयोजना बनाएरै स्थानीय सरकारले काम गरेको गाउँपालिकाले जनाएको छ । संघीय पर्यटन मन्त्रालय समेतको आर्थिक सहयोगमा धानखेती हुने क्षेत्रलाई तारबार, भरपर्दो सिंचाइ र होमस्टे स्थापनासम्मको कार्यक्रम अघि बढाइएको गाउँपालिकाको भनाइ छ ।

छुम ज्यूलो संरक्षण तथा प्रवर्द्धन गुरुयोजना अन्तर्गत तीन करोड खर्च गर्ने योजना छ । सो योजना अन्तर्गत हेलीप्याड समेत निर्माण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए । ‘संसारको अग्लो ठाउँमा फल्ने धान खेती हेर्न पर्यटक आउन् र चामल पनि यहीबाट बिकोस् भन्ने हाम्रो चाहना छ,’ प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने ।

छुटाउनुभयो कि?

सबै