• ३० असोज, शनिबार
  • , Oct 16, Saturday

मेसिनबाट धान रोपाईं

  • २०७८ असार १४ सोमबार
  • Yugbani

दाङ : जिल्लामा पहिलो पटक धान रोपाईका लागि मेसिनको प्रयोग गरिएको छ। परम्परागत रुपमा धान रोपाईं भइरहेको अवस्थामा यो वर्षदेखि यान्त्रिकीकरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

 

किसानहरुले मेसिनबाट धान रोप्न सुरु गरिसकेको र दाङमा यस वर्षको राष्ट्रिय धान दिवस मेसिनबाट धान रोपेर मनाइन लागेको छ हो। कृषि ज्ञान केन्द्र दाङले मेसिनबाट धान रोपेर यस वर्षको असार १५ ‘राष्ट्रिय धान दिवस’ मनाउने तयारी भएको जनाएको छ। 

किसानहरुलाई कृषिमा यान्त्रीकिकरण गर्दै लैजाने उद्देश्यले जिल्लामा तीन वटा धान रोप्ने मेसिन ल्याइएको छ। यसै वर्षदेखि सबै क्षेत्रहरुमा मेसिनबाटै धान रोप्ने केन्द्रको योजना भएपनि कोरोनाका कारण उपकरण आउन समस्या भएपनि परीक्षण र प्रशिक्षणको रुपमा मात्रै तीन वटा मेसिन परिचालन भएको कार्यालयका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिए। केन्द्रले विभिन्न सहकारी र कृषक समुहमार्फत किसानहरुलाई मेसिनसमेत उपलब्ध गराएको र धान रोप्ने प्रशिक्षण दिइरहेको पौडेलको भनाई छ। 

‘यस वर्षदेखि नै सबै क्षेत्रहरुमा मेसिनबाटै धान रोप्ने केन्द्रको योजना रहेको थियो, उनले भने,’तर लकडाउनका कारण मेसिन समयमा आउन नसक्दा प्रशिक्षणका रुपमा मात्र मेसिनबाट धान रोपिएको छ, अब यसलाई पूर्ण रुपमा प्रयोग गरेर लैजान्छौ। आगामी वर्षदेखि भने सबै पालिकाहरुमा मेसिनबाटै धान रोपाई हुने उनको भनाई छ। प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत संघीय सरकारबाट अनुदानमा प्राप्त भएको मेसिन केन्द्रले दुई सहकारी र एक कृषि समुहलाई प्रदान गरिसकेको छ। 

राजपुरमा रहेको सुर्योदय कृषि बहुउदेशय सशकारी, गढवामा रहेको नीलकमल महिला समुह र लमहीमा रहेको हरित क्रान्ती कृषि सहकारी संस्थालाई धान रोप्ने मेसिन दिइएको छ। यसवर्षको मनसुन चाँडै सुरु हुँदा जेठको अन्तिम सातादेखि नै जिल्लामा धान रोप्न सुरु गरिएको छ। ‘हाम्रो योजना त यसैवर्षदेखि नै मेसिनले सबैठाउँमा धान रोप्ने थियो, उनले भने,‘लकडाउनले गर्दा मेसिन ढिलो आएकाले यसवर्ष सकिएन, तर किसानहरुलाई भने कसरी धान रोप्ने भन्नेबारे जानकारी दिइरहेका छौँ।’

मेसिनबाट धान रोप्दा छिटो, छरितो र सजिलो भएको सुर्योदय कृषि बहुउदेश्यीय सहकारी संस्थाका राजपुरका सह–व्यवस्थापक तथा किसान मोहन कुमार खनालले बताए। उनले मेसिनबाट पहिलो चरणमा १५ कठ्ठामा धान रोपेको बताए। उनले आफुले १५ कठ्ठा खेतमा धान रोप्न एक/डेढ घण्टा समय लागेको बताए। मेसिनबाट हामीले १५ कट्टामा धान रोपेका छौँ, उनले भने,‘रोप्ने मान्छे लगाउँदा १२/१५ जना चाहिने र दिनभर लाग्थ्यो, अहिले ४ जनाले रोपेर सकियो। मान्छे पनि थोरै, खर्च पनि थोरै, समयको बचत हुने भएकाले निकै राम्रो लाग्यो।’ उनले भने, कृषिमा यान्त्रिकीकरण हुनु आवश्यक रहेछ। 

एक पालिका एक मेसिन 
प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तर्गत एक पालिकालाई एक मेसिन उपलव्ध गराउने नीति छ। यस अन्तर्गत तीन वटा मेनिन तीन पालिकाका सहकारी र समूहलाई दिएको हो। मेसिनहरु किसानहरुलाई उपलब्ध गराइएको हो। तर जिल्लामा हालसम्म दुईवटा सहकारी र एउटा समुहले मात्र उक्त मेसिन प्राप्त गरेका छन्। आवश्यक मापदण्ड र टेण्डर प्रकृयाका आधारमा एउटा पालिकाबाट एउटा समुह/सहकारी छनोट गरी २४ लाख संघीय र २४ लाख स्थानीय सरकारको अनुदान गरी ४८ लाख रुपैयाँ प्रदान गरी आवश्यक कृषि सामग्री र मेसिन खरिद गरिने छ। हालसम्म ८ वटा पालिकाहरु छनोटमा परिसकेको र बाली छनोट प्रकृया गलत हुँदा दुईवटा पालिकाहरु यस वर्ष छनोटमा नपरेको सूचना अधिकारी पौडेलले बताए। 

६५ प्रतिशत धान रोपाई
दाङमा असार १४ सम्ममा ६५ प्रतिसत धान रोपाई भएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा असार १४ गतेसम्म ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ। गत वर्ष यो समयमा ५० प्रतिशत मात्र धान रोपाई भएको थियो। कोरोनाका कारण श्रम शक्ति घरमै रहेको हुँदा र मौसमले पनि साथ दिदा यस वर्ष धानखेती समयमै सुरु भएको कार्यालयको भनाई छ। 

गत वर्ष जिल्लामा ३८ हजार हेक्टर जमिनमा धान खेती भएको थियो। भने यसवर्ष ३९ हजार ६ सय हेक्टर जमिनमा धान रोपाई हुने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी रुद्रमणी पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म ६० प्रतिशत हाईब्रेड जातको धान, ३० प्रतिशत उन्नत जातको धान र १० प्रतिशत स्थानीय धान लगाईएको छ। कोरोनाका कारणले नागरिकहरु घरमै हुँदा बाँझो जमिनमा समेत खनजोत गर्ने र बाली लगाउने गरेकाले यस वर्ष एक हजार छ सय  हेक्टर क्षेत्रफल बृद्धि भएको उनको भनाई छ। 

छुटाउनुभयो कि?

सबै