• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

बगरमा जब पैसा फल्यो

  • २०७८ असार १३ आइतबार
  • Yugbani

एक बिघामा रोपेको तरकारी बिक्रीबाट एक लाख आम्दानी महोत्तरी : कुनै बेला असार–साउनमा बाढीको भेल र चैत–वैशाखमा खोलाको बालुवा उड्ने रातु खोलाको बगर अहिले हराभरा छ। महोत्तरीको भंगहास्थित २ सय ४२ बिघा बगर किसानको पाँच वर्षको कठोर परिश्रमले ऊर्बर बनेको हो। खोलाको बगरमा आँप लटरम्म फलेका छन्। लिची, कागतीको बोट लहलह हुर्किँदैछन्। त्यहाँ उब्जाएका परबल, भान्टा, रामतोरिया, फर्सी, लौका, काँक्रो, खुर्सानीजस्ता सागसब्जी बिक्री गरेर किसान मालामाल बनेका छन्। तर्बुजा खेती गरेका छन्। विभिन्न जातका २० हजारवटा फलफूलका बिरुवा रोपिएका छन्। ६१ बिघा जमिनमा वृक्षरोपण गरेर किसानले खाली जमिनमा खेतीपाती पनि गरिरहेका छन्। बगर खेतीले २ सय ४८ घरपरिवारको जीवन फेरिएको छ। २५ दलित परिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र खेती गर्न प्रोत्साहित गरिएको छ।

चार दशकअघि रातु खोलाको भीषण बाढीले भंगहा नगरपालिकाको पर्सा, संग्रामपुर, कविलाशा, मेघनाथ गोरहन्नाको खेतीयोग्य जमिन कटान गरेको थियो। किसानको कन्तबिजोग मात्रै भएन, उठीबासै लगायो। ‘खेतमा लहलह झुलेका धान र मकै खेतमा बाढीको भेल कुद्न थाल्यो,’ पर्साका ५६ वर्षीय किसान रामनारायण सिंह भन्छन्, ‘छिनभरमै बालुवाले खेतको बालीनाली पुरिदियो। उर्बर भूमि बन्जर बनायो। किसान भूमिहीन भए।’ २०३२–०३३ सालको रातु खोलाको वितण्डा उनले यसरी सुनाए। चार दशकसम्म खोलाले बनाएकोे बगरमा बालुवा उडिरह्यो। हावाले उडेर गाउँमा पस्ने धुलोले गाउँलेलाई सताउँथ्यो। खोलाले सुकुम्बासी बनेका किसान परिवार पाल्न भारतको दिल्ली र पन्जाब धाउन थाले। २०६४ सालयता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि बगरको संरक्षण भएको हो। उराठलाग्दो बगरमा किसानले तरकारी खेती गरेर जीवन चलाएको किसान रामपुकार सिंह बताउँछन्। ‘गाउँलेले बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन्। चरिचरन निषेध छ। गाईवस्तु पसे ११ सय जरिवाना लग्छ,’ रातुखोला फलफूल रोपन समूहका अध्यक्ष जासर यादवले भने, ‘सहयोगी संस्थाहरू खोजेर सिँचाइ बोरिङ गाडेका छौं।’ पानी तान्न पम्पसेट खरिद गरेर सिँचाइको प्रबन्ध मिलाइएको छ। सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीको पहलमा रातु खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षरोपण र सुखदाता माई रातुखोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानले बगरलाई हरियाली बनाएका हुन्। पर्साका ४६ वर्षीय उत्तिम हुजेदार परिवार पाल्न पन्जाब जान नपरेकोमा खुसी छन्। बगरमा लगाएका आँप बेचेर उनले परिवार धानेका छन्। त्यसैमा तरकारी खेती गरेर उनी दंग छन्। एक बिघा बगरमा उनले गत मंसिरदेखि हालसम्म एक लाखको तरकारी बिक्री गरे। करेला, लौका, प्याज, आलु, लसुन बेचेको उनी सुनाउँछन्। बिहान ७ बजेदेखि अबेर साँझसम्म उनी बगरमै समय बिताउँछन्। ‘तरकारी खेती गरेर एक लाख आम्दानी भयो, आँप, लिचीको बोट हुर्किंदैछ,’ उनले भने, ‘खेत बगर भएर दुःखी भएका थियौं। अहिले त्यही बालुवामा सुन जस्तै महँगोमा बिक्री हुने तरकारी उब्जिँदा अचम्म लाग्यो।’ खेतमै अटोमेटिक (चौंबीसै घण्टा पानी आउने) बोरिङ गाडेका छन्। त्यहीबाट खेतमा सिँचाइ गर्छन्, अनि बगरमा हरिया सागसब्जी उब्जाउँछन् उनी। उनले कृषि खेती गरेर आठ जनाको परिवार पालिरहेका छन्। संग्रामपुरका ५१ वर्षीय अर्का किसान भागीरथ यादवले १० कठ्ठा बगरमा ५० वटा आँपको बिरुवा हुर्काइरहेका छन्। ‘खेतमा खोला पसेपछि धेरैले आशा मारिसकेका थिए। सरकारलाई मालपोत तिर्न छोडिसकेका थिए,’ उनले भने, ‘गाउँमा जब समूह गठन गरेर बगरमा संघर्ष सुरु भयो तबदेखि बालुवामा मज्जाले तरकारी र आँप फस्टाएको छ।’ चार दशकको बक्र्यौता मालपोत तिर्न थालेका उनले बताए। रातु खोलाको दुई बिघा बगरमा भागीरथका नाति जयप्रकाश यादवले आँपको बोट हुर्काइरहेका छन्। ‘हामीलाई खेतमा सिँचाइको खाँचो छ,’ उनले भने, ‘तरकारी तथा फलफूल सुरक्षित साथ बजार पठाउन एउटा कोल्डस्टोर चाहिएको छ।’ पर्साका बाबुजी हुजेदार भन्छन्, ‘बगरमा फलफूलको बोट हुर्काएर हरियो वन, नेपालको धन भन्ने भनाइ पूरा गर्छौं।’ लामो समय वृक्षरोपणमा काम गरेका उनले आठ कठ्ठा बगरखेतमा ३२ वटा आँपको बोट रोपेका छन्। साँझ, बिहान पानी हालेर हुर्काइरहेका छन्। उनका छिमेकी सुदीपकुमार हुजेदारले १६ कठ्ठामा ८५ वटा आँपका बोट लगाएका छन्। उनले त्यहीँ भित्रको एक कठ्ठामा तरकारी लगाएका छन्। परवल बिक्री गरेर १० हजार बढी आम्दानी गरे। बगरमा बगैंचा फस्टाएपछि गाउँले हर्षित छन्। गाउँको मुहारमा खुसी छाएको छ। बगैंचाको प्लटमा सडक विस्तार गर्नुपर्ने खाँचो रहेको उनले बताए। चुरे क्षेत्रको वन विनाशले गाउँ पस्ने गरेको नील गाई र जंगली सँुगुरले बाली खाएर किसानलाई हैरान बनाएको छ। ‘चुरे क्षेत्रबाट अनियन्त्रण बालुवा ढुंगा उत्खननले मधेसको उर्बरभूमि बर्बाद भइरहेको छ,’ पर्साका रञ्जित हुजेदारले भने, ‘चुरे क्षेत्रका अवैध क्रसर बन्द हुनै पर्छ।’ चुरे दोहोनले पानीको तह घट्दै गएको उनले सुनाए।

छुटाउनुभयो कि?

सबै