• १० वैशाख, बुधबार
  • , Apr 23, Wednesday

आरोपी घरबेटीलाई लिन मन्त्री नै गएपछि रूपाले भनिन्- सरकारले यस्तो गर्छ भन्ने अपेक्षित नै थियो

  • २०७८ असार ०९ बुधबार
  • Yugbani

सञ्चारकर्मी रूपा सुनारले आफूलाई जातका आधारमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी घरबेटीलाई लिन सरकार मन्त्री नै प्रहरी चौकी पुगेको कुरा अपेक्षित नै भएको बताएकी छन्।

 

रूपाले जातका कारण आफूलाई  कोठा नदिएको जाहेरी हालेपछि प्रहरीले बबरमहलकी घरबेटी सरस्वती प्रधान हिरासतमा लिएर अनुसन्धान गरेको थियो।

तीन दिन हिरासतमा बसेकी उनलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार जमानीमा छाडेको हो। उनका श्रीमान् मुकुन्द प्रधानको रोहबरमा जमानीमा छाडिएको हो।

प्रधान हिरासत मुक्त हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगेका थिए। उनले पछि प्रधानलाई आफ्नै गाडीमा हालेर लगेका थिए।

 

प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो।  भीडले प्रधानले आफूलाई जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो।

प्रधान छुटेपछि भीडले सिठी बजाउँदै, हो-हल्ला गर्दै ‘रूपा सुनार-मुर्दावाद!’ भन्ने नारा लगाएको थियो।  

मन्त्री नै आरोपित व्यक्तिलाई लिन गएको दृश्य देखेपछि रूपाले शिक्षा मन्त्री आफैं अग्रसर हुने नसोचे पनि सरकारबाट यस्तो काम हुन सक्छ भन्ने आफूले पहिल्यै सोचेको बताइन्।

'सरकारकै मान्छे गएर आरोपित पीडकलाई लिन जाने कुरा अपेक्षित नै थियो। आँकलन गर्न सकिन्थ्यो। योभन्दा अगाडिका घटनाहरूमा पनि कस्तो भइरहेको छ भन्नेबाट पनि हामी त्यो देख्न सक्छौं,' उनले भनिन्।

 

उनले अहिले भएको व्यवस्थाबाट पूर्ण रूपमा न्याय पाइन्छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताइन्।

'अहिले भएको व्यवस्थाबाट पूर्ण रूपमा न्याय पाइन्छ भन्ने कुरामा म पहिले पनि विश्वस्त थिइनँ। लड्नै पर्छ, संघर्ष गर्नैपर्छ भन्ने तरिकाले नै बाहिर आएकी हुँ। जात व्यवस्था अन्त्यको लागि लड्नुपर्छ भनेर पहिलेदेखि नै हिँडिरहेकै थिएँ,' उनले भनिन्।

त्यसरी हिँड्ने क्रममा आफैंमाथि विभेद भएपछि चुप लागेर बस्न नहुने ठानेको उनले बताइन्।

आफूलाई भएको विभेदलाई काठमाडौंको नेवार समुदायले एउटा व्यक्तिले अर्को व्यक्तिमाथि गरेको विभेदको रूपमा नबुझेर समुदायमाथिको प्रहारका रूपमा बुझेको रूपाले बताइन्।

एउटा व्यक्तिको विरूद्ध सिंगो समुदाय आउनुले जात व्यवस्था कति जगडिएको छ भन्ने कुरा छर्लंगै भएको उनको भनाइ छ।

'काठमाडौंमा सबैभन्दा धेरै जनसंख्या भएको र यहाँका रैथाने, स्थानीयवासीहरूको मस्तिष्कमा कसरी जगडिएको रै'छ त र अरू बेला जातीय विभेद गर्नु हुँदैन भनेर बोले पनि आफ्नो कोही मान्छे एउटाले गर्दा कसरी सडकमै जातीय विभेद गर्नुपर्छ भनेर अन्दोलनमा आउँदो रहेछ भनेर छर्लंगै देखियो,' उनले भनिन्,' सिंगो समुदाय नै आउनु र सरकारवादी मुद्दामा सरकारका मन्त्री आएर उनकै दबाबमा आरोपीलाई छुटाएर लैजानु सामान्य कुरा त होइन।'

यसले देशभरि दलित समुदायको हालत कस्तो अवस्था छ प्रष्ट पारेको उनको भनाइ छ।

'अहिले व्यक्तिगत हिसाबमा मलाई एकदमै ठूलो पीर परेको छ। तर समग्रमा हेर्दा कुटपिट वा मारेकोभन्दा यो विषय  सामान्य हो। यसलाई कानुनी प्रक्रिया पुर्‍याएर के-के गर्नुपर्थ्यो त्यसतर्फ लाग्नुको सट्टा पीडकलाई बचाउनको लागि मन्त्री नै यसरी हिँड्नुहुन्छ,' उनले भनिन्,'मन्त्रीका यस्ता कुराको हामी साक्षी हुनुपरेको छ। यो सम्झेर मेरो दिमागमा घन हानेजस्तो भएको छ।’

आफूले पीडा सहन नसकेर बाहिर निकालेको कुराले समाज भाँडेको आरोप लागेको रूपाले बताइन्।  

'जबसम्म मैले सहेर बसें, त्यत्तिबेलासम्म समाज मिलेर बस्यो। चिच्याएर ऐय्या भनेर बाहिर आएँ भनेचाहिँ समाज भाँडिन्छ भन्ने रहेछ,' उनले थपिन्।

पछिल्लो समय आफूलाई विभिन्न खालका धम्की पनि आएको रूपाले बताइन्।

'म तयार नै छु। मलाई अनेक खालका धम्कीहरू आएका छन्। म त्यो भोग्न तयार नै छु। म यो विभेद अन्त्य गर्छु भनेर हिँडेकी हुँ। त्यसैले जेल परे पनि हार मान्दिनँ,' उनले भनिन्।

छुटाउनुभयो कि?

सबै