नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीलाई परिचयपत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले आयोजना गरेको विद्यार्थीका लागि राहत वितरण कार्यक्रममा राहत वितरण गर्दै नेपाली कांग्रेस कोभिड अनुगमन समितिका सदस्यसमते रहेका नेता महरले यस्तो आग्रह गरेका हुन् ।
लामो समयदेखिको कोरोना महामारीका कारण देशभरका ८५ लाखभन्दा बढी विद्यार्थीको पढाइसँगै गाँसवासमा ठूलो समस्या परेको र भारी वर्षाका कारणले समेत ठूलो जनधनको क्षति भएर जनजीवन बिचल्लित भएको र यसबाट विद्यार्थी सबैभन्दा बढी प्रभावित भएको नेता महरले बताए ।
वर्तमान कम्युनिस्ट सरकार यति ठूलो महामारी, बाढीपहिरोले जनताले ज्यान गुमाइरहेको वेला पनि सत्ता जोगाउन मात्रै लागिरहेको र आवश्यक राहत र पुनर्स्थापनामा नलागेको नेता महरको भनाइ छ । सरकार जनपक्षीय कुरामा गम्भीर नबनेर मानवताविरोधी कार्यमा लागेको महरको आरोप छ ।
कार्यक्रममा नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामालगायतका नेताको विशेष सक्रियतामा राजधानीमा रहेका पाँच सय ५५ जनालाई खाद्यान्न वितरण गरिएको छ ।