• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

बिहेका विषयमा मलाला युसुफजाइको बयानले पूरै पाकिस्तानमा बबाल

  • २०७८ जेठ २८ शुक्रबार
  • Yugbani

काठमाडौं। विश्वकै कान्छी नोबेल पुरस्कार विजेता मलाला युसुफजाइको एक अन्तरवार्ताका कारण पाकिस्तानमा बबाल खडा भएको छ । यो अन्तरवार्तामा मलालाले बिहेका क्रममा गरिने प्रक्रियाहरुका बारेमा असहमति जनाएकी छिन् । मलालाले अन्तरवार्तामा भनेकी छिन् ‘मैले अहिलेसम्म बुझ्न सकिरहेकी छैन कि मानिसहरु बिहे किन गर्छन् ? यदि तपाइँलाई सहयात्री वा जीवनसाथी चाहिएको छ भने त्यसको लागि कागजमा हस्ताक्षर गर्नु किन जरुरी छ ? यो साझेदारी किन हुन सक्दैन ?’ बेलायती अखबार भोगलाई दिएको मलालाको यो अन्तरवार्ताले पाकिस्तानमा ठूलो बबाल मच्चाएको छ । अन्तरवार्तामा मलालाले रोमान्स र पार्टनरको बारेमा पनि केही कुरा भनेकी छिन् ।

मलाला अहिले बेलायतको बर्मिंघममा बस्छिन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट ग्रयाजुएसन पूरा गरिसकेकी छिन् । १ महिनापछि १२ जुलाइमा मलाला २४ वर्षकी हुनेछिन् । ९ वर्षअघि ९ अक्टोबर २०१२ का दिन पाकिस्तानको मिंगोरामा तालिबानीको गोली आक्रमणमा परेर बाँचेकी मलाला अहिले विश्वप्रसिद्ध छिन् । नोबेल पुरस्कार विजेता मलालाको सम्मानमा पाकिस्तानको एक वर्गले मलालाको जन्मदिनलाई मलाला डेको रुपमा मनाउने माग गरिरहेको थियो । तर, अचानक उनी आफ्नै देशका लागि पराइ कसरी हुँदै गइरहेकी छिन् ?

टिभी एंकर फिजा खानले केही दिनअघि आफ्नो टेलिभिजन कार्यक्रममा भने – ‘मलाला बदलिइसकेकी छिन् । एक समय उनले बालिकाको शिक्षामा केन्द्रित रहेर काम गरिन् । नाइजेरियाको अतिवादी संगठन बोको हरामले १५० स्कुले बालिकाहरुको अपहरण गरेपछि उनले यसको विरोध गरिन् । बाराक ओबामा, मिशेल ओबामा जस्ता हस्तिहरुसँग भेटघाट गरिरहिन् । धेरै इज्जत र प्रतिष्ठा कमाइन् तर आज उनी जे गरिरहेकी छिन् त्यसलाई स्वीकार गर्न सकिन्न ।’

स्वात प्रेस क्लवका अध्यक्ष शाहजाद आलम भन्छन् ‘जब उनी यहाँ थिइन्, हामी उनलाई धेरै माया गर्थ्यौं । इङल्याण्ड गएर बदलिइन् । अब मानिसहरु उनलाई घृणा गर्छन् ।’ मलाला आफूले पनि स्वीकार गर्छिन् कि बिहेका विषयमा उनका विचारहरुप्रति उनकी आफ्नै आमा पनि सहमत छैनन् । पितालाई त पाकिस्तानबाट धेरै इमेल आउँछन् । यसमा मलालासँग बिहे गर्न चाहनेहरुले आफूसँग कति धन दौलत छ भनेर बताउँछन् । मलालाको बयानपछि उनका पिताले कैयौं सफाइ पनि दिनु परेको छ ।

मलालाको बयान वा कुराले केवल पाकिस्तानी मात्रै असन्तुष्ट हुन्छन् भन्ने होइन । नोबेल पुरस्कार पाएको भोलिपल्ट उनले कश्मिरका बारेमा भनेकी थिइन् ‘त्यहाँका मानिसहरु, खासगरी बालबालिका घरबाट निस्किन डराउँछन् । बालबालिका स्कुल जान पाउँदैनन् ।’ भारतमा यसको निकै विरोध भएको थियो । फेब्रुअरी २०१७ मा फरेन पोलिसी म्यागजिनले मलालाको विषयमा पाकिस्तानीहरुसँग कुरा गरेको थियो ।

एक विश्वविद्यालय प्राध्यापकले भनेका थिए ‘मलालामा केही खास छैन । पाकिस्तानमा लाखौं बालबालिकाले मलालाले भन्दा गम्भीर आक्रमण झेले । के मलालाले पाकिस्तानमा अमेरिकी ड्रोन आक्रमण विरुद्ध आवाज उठाइन् ? यदि मलालालाई यो देशको भिन्ता छ भने उनी यहाँ फर्केर किन आउँदिनन् ? मलालामाथि तालिबानको आक्रमण नाटक र रचिएको ड्रामा थियो ।’ २०१४ को पीइडब्लु सर्वेमा मलालाका समर्थकको संख्या केवल ३० प्रतिशत थियो ।

फरेन पोलिसी म्यागजिनका अनुसार २०१४ मा मलालाले नोबेल पुरस्कार पाइन् । यसको ठिक एक महिनापछि अल पाकिस्तान प्राइभेट स्कुल फेडरेसनले एक घोषणा गरेर अभियान चलायो । यो संगठनको ब्यानरमुनि १ लाख ५० हजारभन्दा धेरै स्कुल छन् । मलालाको अटोबायोग्राफीको नाम ‘आइ एम मलाला’ हो । यो संगठनले आफ्नो अभियानलाई ‘आइ एम नट मलाला’ नाम दियो । मलालाको खैबर पख्तुनख्या प्रान्तका कैयौं सांसद र विधायकले म्यागजिनसँगको कुराकानीमा मलालामाथि आक्रमण पूर्वयोजनामा भएको भन्दै उनको आत्मकथा प्रतिबन्ध लगाउन माग गरेका थिए ।

२०१३ मा द डनमा प्रकाशित एक पोस्टमा भनिएको थियो ‘मलालामाथि आक्रमणको कहानी अमेरिकी खुफिया एजेन्सी सीआइएको मिसनको एक हिस्सा थियो । गोली कसले चलायो ? कसलाई थाहा छ ?’ केही मानिसहरु मलालालाई पनि पश्चिमी देशको त्यस्तै मिशनजस्तै मान्छन् जुन मिसनबाट अमेरिका ओसामा बिन लादेनसम्म पुगेको थियो र यसका लागि अमेरिकाले डा. शकील अफरिदीलाई गोटी बनाएको थियो ।

अफरिदीले नै नक्कली पोलियो अभियान चलाएर लादेनको परिवारको रगतको नमूना हात पारेका थिए । यसबाट सीआइएले डिएनए परीक्षण गर्यो । अफरिदी अहिले पनि जेलमा छन् । २०१३ मा मलालाले अमेरिकाको पब्लिक रिलेसन फर्मएडेल्म्यानसँग सम्झौता गरेकी थिइन् । यसबाट शंका अझै बलियो भएको थियो । भनिन्छ मलाला हरेक अन्तरवार्ताको लागि मोटो रकम लिन्छिन् ।

जनवरी २०१९ मा मलाला फण्डले १० लाख डलर शिक्षाको विमासको लागि खर्च गर्ने घोषणा गरेको थियो । अल जजीराका अनुसार धेरैजसो पाकिस्तानी मलालाका बारेमा सोधिएका प्रश्नको एउटै जवाफ दिन्छन् ‘उनले हाम्रो देशको लागि के गरिन् ?’ यदि उनलाई मानव अधिकारको यति नै चिन्ता छ भने उनी अमेरिकामा अश्वेतहरुमाथि हिंसा हुँदा किन बोल्दिनन् । कश्मिर र प्यालेस्टाइनका विषयमा किन चुप छिन् ? पाकिस्तानमै आएर किन बस्दिनन् ? २०१२ पछि २०१८ मा १ पटक मात्रै पाकिस्तान आइन् । अब जिन्स पनि लगाउन थालेकी छिन् ।’

छुटाउनुभयो कि?

सबै