नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र कानुन व्यवसायीप्रति गरेको टिप्पणीलाई हारेको मानसिकताको उपज भनेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रममा कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेका थिए।
उक्त टिप्पणी लोकतन्त्रको उपहार र गणतन्त्रको अवमूल्यन भएको पनि कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।
यस्तो टिप्पणी तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएकोले आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गर्न उनले आग्रह गरेका छन्।
यस्तो छ कोइरालाको भनाइ:
प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणी:
१. हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरू कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए। आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ। कति चाँडै बिर्सन सकेको उनीहरूको योगदान?
२. तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो।
३.पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु- मेरो बुझाइमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायी प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वअभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो। सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं।