• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

५ करोड २१ लाखको लागतमा लुम्बिनी प्रदेशसभा हल निर्माण सुरु

  • २०७८ जेठ १३ बिहीबार
  • Yugbani

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ ।

५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेशसभाहल निर्माणको काम सुरु भएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनमा समेत सावधानी अपनाएर प्रदेशसभा हल निर्माणको काम चलिरहेको हो । राजधानीको निर्णय टुंगिएपछि स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानीसँग जोडिएको गुरुयोजना निर्माणसँगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो ।

‘कोभिड–१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनमा पनि प्रदेशसभा हल निर्माणको काम रोकिएको छैन’ उनले भने, ‘एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लवी, स्टेज सबै यसैभित्र निर्माण हुने छ ।’

नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको छ । राप्ती प्राविधिक शिक्षालय भित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो ।

चालु आर्थिक वर्ष भित्र प्रदेशसभा हल निर्माणको काम सक्ने लक्ष छ । तर, लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाई हुने भएको छ ।

‘असार सम्म सक्ने योजना हो । समय परिस्थिति अनुसार भनेकै समयमा काम सुरु गर्न सकिएन’ मजगैयाँले भने, ‘अशोजसम्ममा सबै काम सकिन्छ कि भन्ने लागेको छ ।’ सभाहल निर्माणको काम ड्राइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको हो ।

छुटाउनुभयो कि?

सबै