• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

प्रदूषण बढाउँदै डढेलो

  • २०७७ चैत १८ बुधबार
  • Yugbani

काठमाडौँ, चैत १८ गते । डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।
त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्नुहुन्छ, “त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ ।”
उहाँले भन्नुभएजस्तै विश्वको डढेलोको अवलोकन गरिरहेको नासाको भूउपग्रहले समग्र पृथ्वीकै अधिक भूभाग नै डढेलोको मारमा परेको तस्बिर सार्वजनिक गरिरहेको छ ।
जसअनुसार कुन देशका मात्र हैन कुन महादेशमा कति भूभाग डढेलोमा छ भन्ने अनुसन्धानमा विज्ञहरू जुटेका छन् । ती तस्बिर हेर्दा एसिया र अफ्रिका अन्य महादेशभन्दा बढी डढेलोको चपेटामा परेको देखिएको विज्ञ शर्माले बताउनुभयो । दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ । विगत २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
व्यापक रूपमा लागेको डढेलो निभाउन अब नेपालले छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्नुपर्ने विज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । नेपालको धनका रूपमा रहेको ४५ प्रतिशत भूभागको वन जोगाउनका लागि समयमै यस्ता सहयोगको पहल नगरेको अवस्थामा आउँदा दिनमा डढेलोले प्रकोपको रूप लिन सक्ने उहाँ बताउनुहुन्छ । डढेलो बढी हुने सिजन अझै सुरु भएको छैन ।
वैशाखदेखि यो झन् चर्को र भयावह हुनसक्छ । बृहत् रूपमा लागेको आगो मानवीय प्रयासले मात्र नियन्त्रण गर्न सम्भव हुन्न । क्यानडा र अस्ट्रेलियामा डढेलो लाग्दा अमेरिकाको फायर फाइटिङ विमानले आगो निभाउन सघाएको थियो । विश्वव्यापी सहकार्यले नै यस्ता खालको विपत्बाट बच्न सकिने शर्मा सुनाउनुहुन्छ । दक्षिण एसियामा डढेलोलगायतका विपत्बाट जोगिनका लागि विभिन्न मुलुकले सामूहिक कदम चाल्ने अभ्यास भने निकै कम छ ।

 

देशगत र विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सामूहिक हातेमालो गर्ने प्रक्रिया सबै मुलुकले सुरु गर्नुपर्नेमा उहाँको जोड छ । शर्मा सुझाउनुहुन्छ, “कुनै मुलुकसँग स्रोत साधन पर्याप्त होला, कुनैसँग पैसा पर्याप्त होला त्यसैले जोसँग जे छ त्यो नै एकअर्कासँग बाँडेर सघाउन सकिन्छ । ” नेपालसँग भएको जनशक्तिलाई उपकरणयुक्त, प्रशिक्षणयुक्त र सशक्तीकरणयुक्त बनाउन छिमेकी मुलुकसँगको सहकार्यले सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सिङ्गो एसिया र अफ्रिकाको भूभाग आगोमा जलिरहेको अवस्थामा नेपाल र अन्य देशले एकल प्रयासले आफ्नो देशको आगो निभाउने असफल प्रयास गर्नुभन्दा संयुक्त प्रयासमा अगाडि बढ्नु सुझबुझपूर्ण हुने शर्माले बताउनुभयो । नेपाल सरकारको तर्फबाट के कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँ आगो निभाउने रणनीति निर्माणमा लाग्नुभएको छ । जसका लागि वन विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त विज्ञका रूपमा शर्मालाई नियुक्त गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकका अनुसार नेपालका धेरै सामुदायिक वनमा लागेको डढेलो निभाउन मानवीय स्रोत नै प्रमुख रूपमा प्रयोग गरिएको छ । बाल्टिनले पानी खन्याउने, बोरा भिजाएर आगोमा हान्ने, बालुवा फ्याँक्ने, केराको सुप्ला र चिसो बुट्यानले आगोमा हातले हिर्काउने विधि डढेलो नियन्त्रणमा प्रयोग गरिन्छ ।

छुटाउनुभयो कि?

सबै