• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

कलाकारका वडिगार्ड

  • २०७७ चैत ११ बुधबार
  • Yugbani

केही दिन अगाडि काठमाडौंमा आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’को नोमिनेशन कार्यक्रममा नायक पल शाह पनि पुगेका थिए । कार्यक्रम अवधीभर बसेका पल शाहलाई फोटोसेसनपछि उनका बडिगार्डले हात समात्दै गाडीसम्म पुर्याए । पल पनि बडिगार्डको घेरा भित्र रहेर गाडीमा पुगे र हुँइकिए । पललाई उक्त कार्यक्रममा फ्यानले घेरेका थिएनन् । मिडियाकर्मीकै घेराबाट बचाउन पलका वडिगार्डले यो खालको क्रियाकलाप गरेको धेरैले अड्कल लगाए ।

यस्तै, घटना फेरि दोहोरियो । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा पल शाह बडिगार्ड सहित नै पुगेका थिए । यो कार्यक्रममा पनि पलले मिडियाकर्मीबाट नै असुरक्षित महशुश गरे । यसैले, उनलाई कुनै पनि क्षण उनका सहयोगीले छाडेनन् । यतिसम्म कि, चलचित्र क्षेत्रमा पलसँग निकै नजिक रहेका चलचित्रकर्मीसँग पनि पललाई उनका बडिगार्डले कुराकानी त के हात पनि मिलाउन दिएनन् । कार्यक्रममा सम्मानित भएपछि पलले मिडियासँग कुराकानी गर्दा पनि उनका बडिगार्ड क्यामेराको फ्रेमबाट बाहिर बसेनन् । कार्यक्रम सकिएपछि त पललाई कार्यक्रम स्थलमा उनका बडिगार्डले एकछिन पनि बस्न दिने कुरै थिएन ।

म्यूजिक भिडियोको छायांकनस्थलमा दैनिक आधा दर्जन क्यामेरासँग गफिएर अन्तरवार्ता दिने, दैनिक एउटा म्यूजिक भिडियो खेल्ने पललाई चलचित्रका कार्यक्रममा भने मिडियाकर्मीबाट टाढा बस्न रहर लाग्न थालेको छ । अब, यो उनको नीति हो या उनका बडिगार्डकै नीति हो, यो उनीहरुले नै जान्ने कुरा भयो ।

हुनत, बडिगार्ड नायक शाहले मात्र लिएर हिडेका भने होइनन् । नेपाली चलचित्र क्षेत्रमा कलाकारले आफ्नो व्यस्तता, भिडभाडबाट जोखिनका लागि सहयोगी, बडिगार्ड आदि राख्ने गरेका छन् । तर, कहिलेकाही यो कुरालाई कसरी व्यवस्थापन गर्ने भन्ने भेउ नपाउँदा उनीहरु धेरै स्थानमा चिप्लिरहेका हुन्छन् ।

चलचित्र ‘ड्रिम्स’ रिलिज समयमा नायक अनमोल केसीले बडिगार्ड बोकेर हल पुगे । ४ जना बडिगार्डको सुरक्षा घेरामा बसेका अनमोललाई भिडबाट बचाउन बडिगार्डलाई नै हम्मे हम्मे भयो । अनमोलले आफ्नै व्यक्तिगत बडिगार्ड भने राखेका छैनन् ।

यस्तै, चलचित्र ‘लिलिबिली’को पत्रकार सम्मेलनमा नायक प्रदिप खड्काका लागि यसको निर्माणपक्षले बडिगार्डको व्यवस्था गरेपछि चर्चा भयो । पत्रकार सम्मेलनमा पत्रकार बोलाएर पत्रकारबाटै नायक खड्काले असुरक्षित महशुश गरेको भन्दै आलोचना भयो । हल पुग्दा बडिगार्डको साथमा पुगेपनि प्रदिपले पनि व्यक्तिगत रुपमा बडिगार्ड भने राखेका छैनन् ।

नेपालमा विशेषगरि, कलाकारहरुले हरेक समय बडिगार्ड बोकेर हिड्ने गरेका छैनन् । तर, पछिल्लो समय पल शाहले भने बाहिर निस्कदा सहयोगी लिएर हिड्ने गरेका छन् ।

नायक अनमोल केसी, प्रदिप खड्का, सलिनमान बनियाँ, नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा लगायतका लागि चलचित्र रिलिजको समयमा हलमा पुग्दा चलचित्रको निर्माणपक्षले नै बडिगार्डको व्यवस्था गरिदिने गरेको छ ।

तर, चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका क्रममा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निर्माणपक्षले छायांकन अवधीभर बडिगार्डको व्यवस्था गरेको थियो । यो उनीहरुका लागि आवश्यकता भन्दा पनि चर्चाको लोभ मात्र थियो भनेर वुझ्न कठिन पर्दैन ।

कलाकारलाई भिडभाडमा जाँदा चोटपटक लाग्ने, भिडले घेर्दा समस्या हुने आदि कारणले गर्दा बडिगार्डको आवश्यकता पर्छ । तर, कुन ठाउँमा बडिगार्डलाई कसरी काम गराउने भन्ने नजान्दा कलाकारहरुको आलोचना हुन थालेको छ ।

छुटाउनुभयो कि?

सबै